ज्योति मगरको फेरिएको रुप : आँसुको मसीले लेखेको ‘माइतीको माया बरी लै’

‘घर छोडेर हिँडेको १५ वर्ष भयो । आमासँग तिज नमनाएको पनि १५ वर्ष भए छ । यी १५ वर्षका तिज कहाँकहाँ मनाइयो थाहा छैन । तर, आमालाई नसम्झिएको त्यस्तो कुनै पल छैन,’ कुराकानीको सुरुमै ज्योति मगरले लामो सुस्केरा हालिन् । ज्योतिले आमाको यही अभावलाई गीतमा गाइन् ‘माइतीको माया बरी लै ।’

यो वर्ष पनि रोल्पा गएर आमासँग तिज मनाउन सक्ने ज्योतिको अवस्था छैन । बितेको १५ वर्षमा आमाविनाका तिज मात्रै गएनन्, ज्योतिको जीवनबाट । थुप्रै सम्झना, माया र घटनाक्रमहरु छुटेर गए । ‘यी वर्षहरुमा जिन्दगीका थुप्रै सुन्दर आयामहरु छुटेर गए । १५ वर्षदेखि आमासँग तिज मनाउँदाको खुसी छैन मसँग । खुसी मात्रै कहाँ छुटेका हुन् र पछि त आफ्ना सन्ततिलाई सुनाउने थुप्रै कथा पनि छुटेर गए’ ज्योति थप्छिन् ।

देश–विदेशका विभिन्न स्टेज कार्यक्रमहरुमा ज्योतिले तिज मनाउँदै गर्दा रोल्पाको सुदूर गाउँमा उनकी आमाले कसरी तिज मनाइन् होला ? छोरीको सम्झनामा उनकी आमाले कति आँसु बगाइन् होला ? ज्योतिसँग उनकी आमाले आँसुको यो कथा कहिल्यै साझा गरिनन् । तर, यो गीत लेख्दै गर्दा ज्योतिका आँखा थुप्रै पटक रसाए । गीत गाउँदै गर्दा कयौं पटक गला अवरुद्ध भए । ‘खासमा यो गीत मैले आँसुको मसीले लेखेको हो,’ ज्योतिले भावना साटिन् ।

यसरी जन्मियो ‘माइतीको माया बरी लै’

ज्योतिलाई गीतमा आफ्नै आमाको सम्झना गाउन मन थियो । तर कहिले, कसरी गाउने उनी आफैंसँग यकिन खाका थिएन । यो गीत पनि ज्योतिले योजना बनाएर लेखेकी होइनन् । गीतका केही अन्तरा बाटोमा हिँड्दाहिँड्दै फुर्यो, लेखिन् । केही भने ओछ्यानमा पल्टिरहेको बेला लेखिन् । गीतभित्रको ‘कथा’ दिमागमा दौडिरह्यो । गीत पूरा हुन सकेन । ज्योति अपूरो गीत लिएर संगीत संयोजक योगेश काजी कहाँ पुगिन् । उनीसँग कुरा भइसकेपछि मात्रै हो उनले गीत पूरा गरेको । 

खासमा डान्सिङ बिटको गीत गर्दागर्दै ज्योति आफैं पनि ‘मोनोटोनस’ भैसकेकी थिइन् । यो वर्ष केही गम्भीरखालका गीत गर्छु भन्ने कुरा दिमागमा चल्दै गर्दा उनको आँखामा आएको थियो कोहलपुरको घटना । जहाँबाट कोरोनाका कारण स्वास फेर्न गाह्रो भएको आफ्नो बच्चाको ढाडमा थपथपाएर आमाले आँसु बगाएको दृश्य सार्वजनिक भएको थियो । यो दृश्य हेरेर ज्योति आफैं पनि कयौं पटक रोइन् । ‘यही स्टोरीलाई शब्दमा उनेर गीत गाउँ कि भन्ने सोचेको थिएँ । तर, यो स्टोरी यही वर्ष सकिन्छ । गीत सधैं सुन्दा उस्तै जीवन्त लाग्ने होस् भन्ने दिमागमा आयो । अनि यो गीत लेखेको हुँ,’ ज्योतिले गीतको रचनागर्भ सुनाइन् । 



गीतको कथा उनकी आमाको पालाको हो । जुन कथा ज्योतिलाई सानै हुँदा आमाले नै सुनाउँथिन् । गीतको धेरै कथा आफ्नै आमासँग मिल्ने ज्योति बताउँछिन् । भन्छिन्, ‘यो गीत सुनेर आमाले आफ्नी आमालाई पक्कै सम्झना गर्नु हुन्छ ।’

सोचेको जस्तो काम गर्न सकिएन 



गीत तयार भयो । ज्योति म्युजिक भिडियोका लागि स्टोरी राइटिङमा बसिन् । उनले एक बसाइमा एउटा गीतको स्टोरी पूरा गर्न सकिनन् । स्टोरीमा अघि बढ्न खोज्थिन्, ज्योतिका आँखा भरिएर आउँथे । मनमा गाँठो परेर आउँथ्यो । ‘आमाका सम्झना कथामा उतार्न कहाँ सजिलो हुने रहेछ र,’ ज्योतिले गीतको कथा लेख्दै गर्दाको सकस सुनाइन् । 

गीत अनुसारको म्युजिक भिडियो निर्माण गर्दा खर्च धेरै लाग्थ्यो । म्युजिक भिडियोले त प्रोफेसनल कलाकार खोज्थ्यो । तर, कोरोनाका कारण दुई वर्षदेखि ज्योति बेरोजगार छिन् । आयआर्जन छैन । त्यसैले सबै कुरामा ज्योतिले सम्झौता गरिन् । भन्छिन्, ‘धेरै कारणले सोचेको जस्तो काम गर्न सकिएन ।’

म्युजिक भिडियोमा अभिनय गर्दा ज्योतिलाई यसपटक नक्कली आँसु निकाल्नु परेन । उनको मात्रै होइन संगीको भूमिकामा देखिएकी रितिका कुँवरका आँखा पनि यसै रसाए । म्युजिक भिडियो निर्माणका क्रममा प्रत्येक सटमा एकखालको सन्नाटा छाउँथ्यो । निर्देशक स्मृति तिमल्सिना पनि कयौं पटक रोकिएकी छन् । ज्योतिले यो अड्काइलाई गीतको शक्ति ठानेकी छन् । आमाको सम्झनाको शक्ति सम्झिएकी छन् ।

प्रतिक्रियाले दिएको खुसी

ज्योति मगरको नाम सुन्दा धेरैको आँखा अगाडि दृश्य बनेर आउँछ– उनको छोटो पहिरन् । उत्तेजक नृत्य । दुईअर्थ लाग्ने शब्द भएका गीत । सामान्यतया उनको नामसँगै आउने आकृति हो यो । 

हरेक वर्ष तिजमा गीत सार्वजनिक गर्ने ज्योति सधैं विवादमा पर्ने गायिका हुन् । तिज गीत र विवाद ज्योतिका लागि नियमित जस्तै भैसकेका छन् । उनी कहिले गीतमा प्रयोग गरिएका शब्दका कारण चर्चा र विवादमा तानिने गरेकी छन् त कहिले गीतको म्युजिक भिडियोमा प्रयोग गरेको पोसाक र नृत्यका कारण । अब चर्चा र विवाद दुवै ज्योतिका लागि सामान्य बनिसकेको छ । 

उनको चर्चा म्युजिक भिडियो र गीतमा मात्रै हुने होइन, त्यो भन्दा धेरै चर्चा स्टेज कार्यक्रममा हुन्छ । हरेक स्टेज कार्यक्रममा लगाउने लुगा विवादित बनिदिन्छन् । उनले स्टेजमा प्रकट गर्ने हाउभाउले विवादलाई थप मलजल गरिदिन्छ । 

यो वर्ष पनि ज्योतिले थुप्रै तिजका गीतमा काम गरिन् । केही गीतमा आवाज दिइन् । केहीमा अभिनय गरिन् । यो वर्ष उनको त्यति धेरै चर्चा वा विरोध हुन पाएन । सधैं उत्तेजक र भड्किलो रुपमा प्रस्तुत हुने ज्योतिको भावुक रुप उनका दर्शकले निकै रुचाएका छन् । तर, भड्किला तिज गीतमा ज्योतिको जसरी चर्चा हुन्थ्यो, यो गीतमा त्यो तहमा भएको छैन । युट्युबमा ज्योतिको नामबाट हेरिने अन्य गीतको तुलनामा यो गीत निकै कमले हेरेका छन् । फरक सोच राखेर फरक काम गर्दा ठीकैको प्रतिक्रिया पनि नपाउँदा ज्योति मलिन सुनिन्छिन् । भन्छिन्, ‘राम्रो गीतको भ्युज नै आउँदैन ।’

तर, यो गीत सार्वजनिक भएपछि ज्योतिलाई थुप्रै महिला दिदी–बहिनीले फोन गरिरहेका छन् । उनीहरुले भनिरहेका छन्, ‘गीत हेरेर म रोएँ ।’ युट्युबमा आउने लाखौं भ्युजभन्दा धेरै माथि लागेका छन् ज्योतिलाई यी प्रतिक्रियाहरु । उनका गीतले लाखौं भ्युज पाउँदा पनि ज्योतिलाई यो खालको खुसी  मिलेको थिएन । भन्छिन्, ‘अरु गीत गाउँदा युवा पुस्ताले मात्रै इन्जोय गर्छन् । तिम्रो गीतमा तिम्रा तिघ्रा हेर्न दर्शक आउने हुन् भन्थे । यो गीत रिलिज भएपछि धेरैले आमा सम्झिएँ भन्दै फोन गर्नुभएको छ । एउटा कलाकारका लागि ठूलो सम्पत्ति यो पो रहेछ ।’

  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार २०:४३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया