अमेरिकी दूतावासमा लोकतन्त्र शिखर सम्मेलनसम्बन्धी कार्यक्रम सम्पन्न

नेपालस्थित अमेरिकी दूतावासले लोकतन्त्र शिखर सम्मेलनको पूर्वसन्ध्यामा बुधबार एक कार्यक्रमको सम्पन्न गरेको छ । मङ्सिर २३–२४ मा विश्वव्यापी भर्चुअल रुपमा हुने उक्त शिखर सम्मेलनले लोकतान्त्रिक नवीनीकरणका लागि स्वीकारात्मक एजेन्डा तय गर्न सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वलाई एकै ठाउँमा ल्याउने विश्वास लिइएको छ । 

उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी, युएसएआइडीका नियोग प्रमुख सेपिडे केभानशाड, नेपाली नेतृत्वकर्ता, अधिकारकर्मी, नागरिक समाजका सदस्य र युवा अभियन्ताले सामाजिक, राजनीतिक र आर्थिक समावेशीकरणका साथै लोकतान्त्रिक मुलुकहरूका अवसर र चुनौतीबारे चर्चा गरे । 

‘नेपाल धेरै अर्थमा यस क्षेत्र र विश्वकै निम्ति एउटा नमुनाको रूपमा रहेको छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत बेरीले हालैका वर्षहरूमा नेपालले हासिल गरेका उपलब्धिमाथि प्रकाश पार्दै भने, ‘विगतको १५ वर्षभित्र नेपाल हिंसात्मक माओवादी द्वन्द्व, त्यसपछिको शान्ति प्रक्रिया, लोकतान्त्रिक शासनको पुनरागमन र नेपाललाई धर्मनिरपेक्ष, लोकतान्त्रिक र संघीय व्यवस्थाको रूपमा परिभाषित गर्ने संविधानको अनुमोदन हुँदै अघि बढेको छ ।’

राजदूत बेरीले संयुक्त राज्य अमेरिकाको लोकतन्त्रको शक्तिको परीक्षण र पुनः पुष्टि गरेका ऐतिहासिक र हालसालका घटनाहरूका बारेमा पनि चर्चा गरेका थिए । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवअधिकार दिवस पहिलो लोकतन्त्र शिखर सम्मेलनको आयोजना गरेर मनाउने भएका छन् । यो शिखर सम्मेलन लोकतान्त्रिक देशहरूका यी तीन स्तम्भ र साझा मूल्यहरूमा केन्द्रित हुनेछ– भ्रष्टाचारविरुद्ध लडाइँ, अधिनायकवादको प्रतिकार र मानव अधिकारको प्रवर्द्धन । राष्ट्रपति बाइडेनको निमन्त्रणामा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । 

यस शिखर सम्मेलन लोकतन्त्रको उत्थानशीलता र चुनौतीहरूलाई सम्बोधन गर्न सन् २०२२ भरि हुने कार्यक्रमहरूको शृङ्खलाको एक हिस्सा हुने जनाइएको छ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार २२:४१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया