[अन्तर्वार्ता] अहिले नेताहरुको पनि नेता प्रचण्ड नै होः गिरिराजमणि पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्र अहिले राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । आइतबारबाट काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनले पार्टीको नयाँ कार्यदिशा मात्र होइन, नयाँ नेतृत्व पनि चयन गर्ने बताइएको छ । नयाँ नेतृत्वमा अहिलेसम्म अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि दोहोरिने निश्चित भइसकेको छ । 

शुक्रबार स्थायी कमिटी बैठक नै दुई पटक बसेको नेकपा माओवादी केन्द्रमा फेरि प्रचण्डपथको बहस सुरु भएको बताइएको छ । देशभरका १६३१ प्रतिनिधिले आगामि महाधिवेशनसम्मका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

अध्यक्षपछिको पदका लागि विभिन्न नेताहरु आकांक्षी देखिएका छन् । 

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा फरकधारले माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलसँग कुराकानी गरेको छ । त्यही कुराकानीको सम्पादित अंशः 

 

हिजो जुन उत्साहका साथ नेपालमा नेकपा माओवादी केन्द्रको भूमिकालाई लिइन्थ्यो, अहिले त्यो छैन । यो पार्टी धेरै सानो भइसक्यो, अब विलिन हुन्छ भन्ने सुनिन्छ । राष्ट्रिय सम्मेलनले यो भावलाई चिर्न सक्ला ?



पहिलो कुरा त, माओवादीको आफ्नै एउटा पृष्ठभूमि छ । जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधान बनाएको आफ्नै छवि छ । प्रतिगमनविरोधी आन्दोलनमा पनि एकपटक माओवादीले नै नेतृत्वदायी भूमिका खेल्यो । राजतन्त्रलाई परास्त गरेर सामन्तवादलाई पराजित गर्दै जुन ढंगले हामी सफल भएका छौँ, हामीले जनवादी क्रान्तिलाई नेपालमा फरक ढंगले स्थापित गर्यौँ, सम्पन्न गरेका छौँ । हामीले नयाँ जनवादी क्रान्ति गर्यौँ, चिनियाँ मोडलमा पनि गएनौँ । हाम्रोमा पुँजीवादी क्रान्ति पनि भएन । नयाँ ढंगले क्रान्ति सम्पन्न भयो ।

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समाजवादी उन्मुखता हाम्रो संविधानले प्रत्याभुत गरेका मूल स्तम्भ हुन् । अन्य पुँजीवादी शक्तिहरुसँग मिलेर मुख्यतः माओवादी नै लचकतासहित अगाडि बढेको हुनाले सम्भव भएको हो ।



त्यसैले, अब संविधान बनाउने र कार्यान्वयन गर्ने विषयमा पनि माओवादीले जुन भूमिका खेलेको छ त्यो स्थापित सत्य नै हो । हिजोको जस्तो संघर्ष, संगठन शैली त छैन, अहिले धेरै कुरा बदलिँदो रुपमा आएका छन्, अपेक्षाहरु सगरमाथाभन्दा अग्ला छन् । हामी नयाँ राजनीतिक प्रक्रियामा आएपछि, संसदीय प्रक्रियामा आएपछि त्यतै हराउने हो कि भन्ने आशंका र चिन्तासहितका विषय पनि आएका छन् । यी सबै कुरा चिर्न हामीले राष्ट्रिय सम्मेलनको आयोजना गरेका हौँ ।

हो, हामीले पनि महाधिवेशन गर्नु पर्ने थियो । तर, गत वर्ष ५ पुसमा प्रतिगमन विरोधी आन्दोलन, त्यसको संघर्ष नसकिँदै नेकपाको विभाजन भयो । तुरुन्तै हामी विभाजनलाई चिरेर जानुपर्ने थियो, फेरि संसद विघटन भयो । हामीले धेरै संगठन विस्तारको काम गर्न नै पाएनौँ । 

साउनदेखि हामीले ४ महिने अभियान बनाएर आएका छौँ । त्यसको ४ महिने अवधिको अन्तिम काम भनेको हाम्रो सम्मेलन हो । यसले संगठनको जग बसाउँछ । साढे ७ लाखदेखि ८ लाखको बीचमा हाम्रा सदस्यहरु छन् । हामीले अलिकता सदस्यता खुलायौँ भने यो अझ धेरै हुन्छ । हामी यो सम्मेलनपछि जो बनेको संगठन छ, एकातिर त्यसलाई अझै सुढृढ बनाउने र अर्को तर्फबाट देखा परेका विकृति तथा विसंगतिहरुलाई शुद्धिकरण गर्दै अगाडि लैजान्छौँ, लैजानै पर्छ । प्रतिगनमविरोधी आन्दोलनमा भएको संघर्षलाई हामी कायमै राख्छौँ । पाँच दलको गठबन्धनलाई निरन्तरता दिनु छ, यसलाई फुटाउने खेल पछिल्लो समय भइरहेको छ । हाम्रो प्रयास चाँही चुनावसम्मै त्यसलाई लगेर चुनावलाई संघीयता कार्यान्वयनको अर्को अवधिको ठिक नेतृत्व छान्ने काम गर्नु पनि हो ।

 

तपाईंले चुनावसम्म गठबन्धन टिक्छ त भन्नुभयो तर गठबन्धनभित्र नै समस्याहरुको पुलिन्दा बनिसकेका छन् भन्ने बाहिर आइसकेको छ । यो कतिसम्म साँचो हो ?

हामले चुनावसम्मै गठबन्धनलाई टिकाउनुपर्छ । वाम प्रजातान्त्रिकहरुको केही समयसम्म एकता जरुरी पनि छ । किनकि हामीले संविधान मिलेर बनाएका छौँ, संविधानअनुसार ऐन कसरी बनाउने, संघ, प्रदेश र स्थानीय सरकारलाई कसरी व्यवस्थित गर्ने, विकासको मोडल कस्तो गर्नेलगायतका विषयमा हामी मिलेर नै जानु पर्ने हुन्छ ।

हामी मिलेर जान नसक्नुमा भित्र र बाहिरका शक्तिहरुको खेल भयो, केही सफल भए पनि । पछि हामीले वाम गठबन्धन गरेर ठूलो विकल्प दिन खोज्यौँ । तत्कालीन पार्टी अध्यक्ष र तत्कालिन प्रधानमन्त्रीबीच अन्तर्संघर्ष चल्यो । हामी फेरि अर्को गठबन्धनमा गयौँ । यो परिस्थितिले निम्त्याएको हो । 

अर्को, समकालीन राजनीतिलाई स्वस्थ बनाइरहनु र उचित दिशामा लैजानु हाम्रो दोस्रो कार्यभार हो । अनि तेस्रो चाहिँ जुन जुन राष्ट्रियताका सवालमा उठेका विषयहरु छन्, चाहे त्यो एमसिसी होस् या लिपुलेक, कालापानी होस् या असमान सन्धीसम्झौताका विषय, सबैलाई राष्ट्रियताको नारामा एकताबद्ध भएर अगाडि बढाउनु पनि हो ।

यी मुद्दाहरुमा हाम्रो क्रान्तिको मोडल के हो, हामी जाने कहाँ हो, हाम्रो गन्तव्य कुन हो र के हो भन्ने पनि निकै महत्त्वपूर्ण छ । अहिले कतिपयले टिप्पणी गरेका छन्, यो चुनावदेखि चुनावसम्म मात्र पो हो कि ? तर, यस्तो होइन । 

हामीले समाजवादी क्रान्ति कसरी उपलब्ध हुन्छ भन्ने कुरालाई पनि हेर्नुपर्छ । समाजवादी क्रान्तिको कुरालाई कसरी लिने भन्ने पनि महत्त्वपूर्ण कुरा हो । यो विषयमा हामी यो सम्मेलनमा छलफल गर्नेछौँ र एउटा निश्चित दिशा तय गर्नेछौँ ।

विश्व परिवेशलाई हेर्ने हो भने माओपछिको कालमा पनि थुप्रै उपलब्धि भएका छन् । अहिले नेपालमा भएका थुप्रै विशेषतालाई पनि हामीले हेर्नुपर्छ र विश्वमा भएका विषयलाई पनि केलाएर संश्लेषण गर्नुपर्छ । रुस, चीन, भियतनाम, कोरियाका विगत र अनुभव पनि हामीले हेर्नुपर्छ । त्यही अनुरुप समाजवादी क्रान्तिको मोडालिटी तय गर्न सकिन्छ  । पछिल्लो केन्द्रीय कमिटीले विचारको प्रष्टतालाई टुंग्याएको छ । त्यही अनुरुप पार्टीलाई थप बलियो बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । हामी नेता कार्यकर्ताहरुले सामाजिक सांस्कृतिक रुपान्तरण अहिलेको सापेक्षतामा के गर्न सक्छौँ भनेर पनि विधि बनाउनु पर्ने देखिएको छ, यसका लागि अभियान पनि चलाउनु पर्छ । यसका केही क्षेत्रमा यो सम्मेलनले सम्बोधन गर्नेछ, दिशाबोध गर्नेछ ।

 

माओवादी केन्द्रमा ३ दशकदेखि एउटै नेतृत्व छ । अब पनि त्यही नेतृत्व दोहोरिदै छ, के माओवादी केन्द्रमा प्रचण्डपछि कोही उत्तराधिकारी छैनन् ?

प्रचण्ड कमरेडको सन्दर्भमा जो कुरा उठेको छ, हाम्रो रिभोलुसनरी आन्दोलनको कोणबाट हेर्नुपर्छ । उहाँ हाम्रो नेताहरुको पनि नेता हो । कम्युनिस्ट पार्टीमा बुर्जुवा पार्टीको जस्तो हुँदैन । यहाँ विचार, व्यवहार र संघर्षको केन्द्रीकृत अभिव्यक्ति हुन्छ । सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति हुन्छ । त्यो कोणबाट नेतृत्वलाई बुझ्नुपर्छ । कमरेड प्रचण्डले नै अहिलेको समकालीन राजनीतिदेखि आन्दोलनसम्मको नेतृत्व गरिरहनु भएको छ, उहाँ त्यो ठाउँमा हुनुहुन्छ । उहाँसहित अहिलेको टिम एकतावद्ध भएर लाग्यो भने समाजवादी क्रान्तिको आधार बनाउन सकिन्छ । 

अहिलेका उपलब्धिलाई रक्षा पनि गर्न सक्छौँ र समाजमा देखिएका निराशालाई चिर्दै जान पनि हामी सक्छौँ । कतिले उमेरको कुरा पनि गर्नु हुन्छ, कतिले यति वर्षदेखि एउटै नेतृत्व पनि भन्नुहुन्छ । हामी अब सम्मेलन सकेर महाधिवेशनमा जाने तयारीमा छौँ, त्यति बेला प्रदेश र स्थानीय तहका चुनावहरु सकिएका हुन्छन् । सम्मेलनले एउटा बहस अघि सार्नेछ, ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिमलगायतका कुराहरुको सम्बोधन हुनेछ । हामीले अहिले अन्तरिम विधानलाई पास गर्दा संश्लेषण गरेर जानुपर्नेछ । 

कमरेड प्रचण्डको सक्रिय नेतृत्व अन्तर्गत नै हामीले संगठन बनाएका हौँ, संगठन बसालेका हौँ । अहिले स्थापित भएर आएको नेतृत्वलाई हामीले व्यवस्थापन गर्न सकेको खण्डमा मात्र माओवादी सही दिशामा जान्छ ।

 

राष्ट्रिय सम्मेलनपछि माओवादीले लिएको विचार, सोच, ढाँचा र यसले लिएको वादमा के के परिवर्तन आउलान् त ? 

अहिले सबै कुरा आजै भन्न किन सकिँदैन भने, भर्खरै अध्यक्षज्यूले एउटा डकुमेन्ट ल्याउनुभएको छ । सम्मेलनमा त्यो पेश हुनेछ । त्यसपछि हामी सामूहिक छलफलमा जानेछौँ । १५ सय नेता कार्यकर्ता जम्मा हुने ठूलो जमघट हो हाम्रो, त्यसले यी विषयमा निर्धारण गर्नेछ । यसपटक हामीले बाहिरको हल्ला होइन, पार्टीको विचार, सिद्धान्त, राजनीति र विधि पद्धतिमा अध्ययन गर्दैछौँ । हामी जनवादमा विश्‍वास गर्छौँ । 

हामीले यसपकट सम्मेलनबाट तल्लो तहको कुरा सुन्दैछौँ । हामीले एकातिर संसदीय पद्धतिमा प्रतिस्पर्धा गर्नु पर्ने छ, अर्कोतिर वैकल्पिक क्रान्तिकारी शक्तिको रुपमा सबैभन्दा मूल शक्ति यही हो, अहिलेको अवस्थामा समाजवादी क्रान्तिलाई राखेर जाने भन्नेमा पनि हामी केन्द्रीत भएका छौँ । हामी बहुपदीय नेतृत्वमा गएका छौँ, अध्यक्षको वरिपरि विभिन्न पदमा नेतृत्व बनाएर तल वडादेखि ५ सदस्यीय कमिटीहरु बनाएका छौँ, पालिकामा ७ र प्रदेशमा ९ सदस्यीय बनाएका छौँ । आन्दोलनका सबै पाटा तथा पक्षलाई समाहित गरेर केन्द्रमा पनि नेतृत्वको टिम बन्छ । अहिले गल्ती कमजोरी जो भएका छन्, त्यसलाई स्वीकार गरेर त्यो उत्साह कार्यकर्तामा र जनतामा पुग्नेगरी हामीले लैजाने प्रयत्न गर्नु पर्नेछ, हामी त्यो गर्नेछौँ । 

 

माओवादी केन्द्र पछिल्लो समय नीति र विचारलाई भन्दापनि पद र व्यक्तिलाई केन्द्रमा राखेर अघि बढ्यो भनिन्छ नि ? हो ? 

यो स्वभाविक पनि हो । संविधानसभाका दुई वटा चुनावपछि हामी संसदको चुनावमा आयौँ, तीन तहको चुनाव भए । यसले हामीलाई प्रतिस्पर्धामा राजनीतिमा ल्याएको हो, हामी प्रतिस्पर्धाको राजनीतिमा गएका हौँ  । यता, हाम्रो क्रान्तिकारी पार्टी निर्माणको प्रक्रिया चाहिँ धुमिल भयो, वैचारिक प्रशिक्षणका कामहरु खासै हुन पाएनन् । म आफैं स्कुल विभागमा छु, यसको इतिहास हेर्दा पनि त्यस्तै देखियो । 

हिजो नेकपा बन्यो, एकता भयो, एकीकरण भएन । हाम्रा चलनहरु निर्देशनात्मक बैठकहरुअनुसार चल्न थाले । ४ हजारको संख्यामा केन्द्रीय कमिटी हुँदा हाम्रा बैठकहरु नै प्रभावकारी रुपमा चल्न पाएनन् । कमिटीहरु भद्दा भए, सबैले आफ्ना कुरा भन्न पाउनु पर्ने थियो तर कसैले पनि पाएनन् । त्यसैले हामीले एक प्रकारले हामी आफैंलाई रिचार्ज गर्नु पर्ने भयो, पुनर्ताजगी त्यसैले पनि चाहिएको हो ।

विकृति विसंगतिको कुरा गर्ने हो भने महाभारत नै तयार हुन्छ, तर संघर्ष, त्याग र बलिदानीको महाभारत पनि यहाँ छ । एकपछि अर्को इतिहास कायम गरेको पनि हामीसँग इतिहास छ । 

हामीसँग अहिले पनि ठूलो पंक्ति छ, नेता तथा कार्यकर्ताको । अहिले कांग्रेसले अधिवेशन सकाएको छ, तर उसको अधिवेशन त नेता छान्न मात्र त रहेछ । एमालेले पनि पराजित मानसिकताकाबीच आफ्नो महाधिवेशन कार्यकर्तालाई देखाउन मात्र गर्यो । 

अहिले हामी विचारलाई पनि स्पष्ट पारेर, देशको आवश्यकतालाई पनि पक्रिएर जाने संकल्पमा छौँ । यसका लागि व्यक्ति र पार्टी दुवैले लड्नुपर्छ । त्यो अभियानका लागि यो सम्मेलनबाट शक्ति प्राप्त हुन्छ । कार्यक्रम र कार्ययोजना बनाएर हामी अगाडि बढ्दै जानेछौँ ।

 

माओवादी केन्द्रको सम्मेलनपछि हामीले गिरिराजमणि पोखरेललाई कहाँ देख्छौँ होला ? तपाईंको दाबी कुन पदमा हो ?

म चाहिँ अहिले सबै साथीहरुलाई के भन्न चाहन्छु भने अहिले हामीले जुन ढंगले काम गरिरहेका छौं, पार्टी ठिक ठाउँमा छ भने मात्र नेताहरुले के जिम्मेवारी लिने भन्ने आउँछ । हाम्रो अध्यक्षको वरिपरि सबै टिमलाई एकताबद्ध गरेर व्यवस्थित ढंगले पार्टीलाई अघि बढाउनु छ । मलाई अहिले स्कुल विभागको जिम्मेवारी छ, विभागले एक वर्षको योजना तयार पारेर अध्यक्षलाई बुझाएको छ ।

अब मेरो आवश्यकता कहाँ छ भन्ने कुरा नेतृत्वले सोच्ने र योजना बनाउने हो । सबै साथीहरुलाई के दिँदा समुचित मूल्याङ्कन हुन्छ, टिम पनि राम्रो बन्छ । अनि हाम्रो जस्तो देशमा र हाम्रो जस्तो पार्टीमा समावेशीताका मान्यतालाई पनि पक्रेर अगाडि बढ्नु पर्छ, नयाँ ढंगले पार्टीको विकास गर्नुपर्छ ।

अरु बुर्जुवा पार्टीलाई हेर्नुभन्दा हामीले माओवादी केन्द्रलाई रिभोलुसनरी पार्टी बनाउनेमा जोड दिनुपर्छ । त्यसलाई अहिले एकतावद्ध ढंगले लगियो भने घटेको साखलाई पनि हामीले बचाउन सक्छौँ, अनि संघर्षको यो मैदानमा हामीले राम्रो परिणाम ल्याउन सक्छौँ ।

  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार ११:५७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया