कर्णाली प्रदेशमा पूर्ण खोप लगाउनेको संख्या ६ लाख ५८ हजार १ सय ४९ पुगेको छ । प्रदेशका १० जिल्लाका १८ वर्षभन्दा माथि उमेर समूहका नागरिकले पूर्ण खोप लगाएका हुन् ।
पहिलो डोज मात्रै लगाउनेको संख्या ८ लाख ४२ हजार ९ सय ९३ रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीका अनुसार कर्णाली प्रदेशको जम्मा जनसंख्या १८ लाख ३४ हजार ८ सय १९ रहेको छ ।
१८ वर्षमाथिको जनसंख्या १२ लाख ३ हजार २ सय ८९ र १२ वर्षदेखि १७ वर्ष उमेर समूहको २ लाख ६ हजार ८ सय ९३ जना गरी जम्मा १४ लाख १० हजार १ सय ८२ खोपको लक्षित जनसंख्या रहेको केसीले बताए ।
१८ वर्षदेखि माथिको उमेर समूहका ५७ प्रतिशतले पहिलो डोज र ५५ प्रतिशतले पूर्ण खोप लगाएको सूचना अधिकारी केसीले बताए । त्यस्तै, १२ वर्षदेखि १७ वर्ष उमेर समूहका १ लाख ६० हजार ८ सय ३७ जनाले मोर्डना खोप लगाएका छन् ।
‘सुर्खेतमा फाइजर र अन्य नौ जिल्लामा मोर्डना लगाउने तयारी थियो,’ उनले भने, ‘तर फाइजर खोप नआउने भएपछि सुर्खेत जिल्लामा समेत मोर्डना खोप लगाउने तयारी भएको छ ।’ उनले सुर्खेतमा चारहजार ६ सय ७३ जनाले मोर्डना लगाइसकेको बताए ।
हालसम्म खोप लगाएकाहरुमा कोभिसिल्डको पहिलो डोज १ लाख १७ हजार १ सय ८, दोस्रो डोज ९२ हजार २४ र बुस्टर डोज ५ हजार १ सय ८० जना रहेको निर्देशनालयको तथ्यांक रहेको छ ।
त्यस्तै, भेरोसेल पहिलो डोज ५ लाख १९ हजार ६५, दोस्रो डोज ३ लाख ९१ हजार ८ सय ८६ र बुस्टर डोज २ हजार ६८ जनाले लगाएका हुन् । जोनसन सिंगल डोज १ लाख ३२ हजार ५ सय ३३, एक्ट्राजेनिका पहिलो डोज ४३ हजार ७ सय ११ र दोस्रो डोज ३९ हजार ६ सय ४९ जनाले लगाएका हुन् ।
फाइजर खोप सुर्खेत जिल्लामा मात्रै पहिलो डोज २ हजार २ सय ७२, दोस्रो डोज २ हजार ५७ जनाले लगाएको सूचना अधिकारी केसीले जानकारी दिए ।
सुर्खेत जिल्लाका लागि फाइजर खोप नआएपछि मोर्डना नै लगाउने तयारी गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।