पबुदुले तीन महिनामा ८ खेलाडीलाई गराए डेब्यु, कस्तो रह्यो प्रदर्शन ?

पुबुदु दासानायकेले दोस्रोपटक नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि धेरै समर्थकलाई लागेको थियो– यसपालि पनि टोलीले विश्वकप खेल्ने भयो । दशानायकेको प्रशिक्षणमै नेपालले २०१४ को विश्वकप खेलेकाले समर्थकले आशा राख्नु स्वभाविक नै थियो । तर, यसपालि समर्थकको आशा पूरा हुन सकेन ।

खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीचको विवाद उत्कर्षमा पुगेको बेला प्रशिक्षक बनेका दासानायकेमाथि धेरै जिम्मेवारी थिए । उनीमाथि सबैभन्दा ठूलो चुनौती क्यान र खेलाडीबीचको विवाद समाधान गर्नु थियो । अन्ततः विवाद समाधान केही हदसम्म समाधान भयो । विवाद साम्य पार्न प्रशिक्षक दासानायकेको पनि भूमिका रह्यो । 

खेलाडी र क्यानबीचको चर्को विवादका कारण टिमले पर्याप्त अभ्यास गर्न पाएन । फलस्वरूप नेपालले नतिजा अपेक्षाकृत निकाल्न सकेन । पर्याप्त अभ्यासबिना ओमान उडेको टोलीले त्यहाँ विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग हार बेहोर्यो । दोस्रोपटक विश्वकप खेल्न एक कदम मात्र टाढा रहेको नेपाल निराश भयो । समर्थकले प्रशिक्षक, खेलाडी र क्यानको चर्को आलोचना गरे । 

सो हारको पीडा प्रशिक्षक पुबुदुमा पनि छ । यदि नेपाललाई विश्वकपमा पुर्याएको भए उनी थप ‘हिरो’ सावित हुने थिए । तर, यसपालि टिम आन्तरिक किचलोमा फस्दा विश्वकपमा छनोट हुन नसकेको समर्थकको आरोप छ । विश्वकप छनोट हुने सुनौलो अवसर गुमाएपछि प्रशिक्षक दासानायकेले खेलाडीलाई निरन्तर व्यस्त भने राखेका छन् । 

विश्वकप छनोटपछि नेपालले केही महत्वपूर्ण प्रतियोगिता खेल्यो । जसमा प्रशिक्षक दासानायकेले युवासहित केही पुराना खेलाडीलाई प्राथमिकता दिए । उनले यसअघि प्रशिक्षक डेभ ह्वाटमोरले मौका नदिएका खेलाडीलाई पनि टिममा समावेश गरे । तर, उनको योजना तत्काल सफल हुन सकेन । यसका बाबजुद  दासानायके युवा खेलाडीलाई जोड दिइरहेका छन् । 

दोस्रोपटक नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी पाएपछि उनले आठ खेलाडीलाई डेब्युको अवसर दिइसकेका छन् । दासानायकेले डेब्यु गराएका खेलाडी प्रतिभावान भए पनि उनीहरूले आफ्नो क्षमता भने देखाउन चुकिरहेका छन् ।



तीन महिनामा ८ खेलाडीको डेब्यु

१. सागर ढकाल



स्पिनर सागर ढकालले यही वर्षको ११ फेब्रुअरीमा ओमानविरुद्धको खेलबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरे । उनको डेब्यु खेल सम्झनालायक भने रहन सकेन । सागरले दुई टी–२० अन्तर्राष्ट्रिय खेलमा एक मात्र विकेट लिन सकेका छन् ।  

उनले यही वर्षको १६ मार्चमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध एकदिवसीयमा पनि डेब्युको अवसर पाए । एकदिवसीयमा पनि उनको सुरुवात राम्रो रहन सकेन । हालसम्म २ एकदिवसीय म्याच खेलेका उनले २ विकेट मात्र लिन सकेका छन् ।  

उनले एकदिवसीयमा ४.२५ को इकोनमीमा बलिङ गरेका छन् । तर, टी–२० मा भने सागर महँगा सावित भए । यो प्रारूपमा उनले ९.१६ को इकोनमीमा बलिङ गरेका छन् ।

किफायती बलिङ गर्न नसक्दा नै सागरले सोमबार घरेलु मैदानमा सम्पन्न टी–२० त्रिकोणात्मक सिरिज अवधिभर बेन्चमै सीमित भए । २० वर्षीय सागरले घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरेपछि अन्तर्राष्ट्रिय क्रिकेटमा मौका पाएका थिए ।

२. विवेक यादव

घरेलु क्रिकेटमा लगातार उच्च प्रदर्शन गरेपछि युवा अलराउन्डर विवेक यादवले पनि यही वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरे । उनले ११ फेब्रुअरी २०२२ मा ओमानसँगको खेलमा टी–२० मा डेब्यु गरेका हुन् । 

विवेकले पनि डेब्युमा सन्तोषजनक प्रदर्शन भने गर्न सकेनन् । उनले पहिलो खेलमा विकेटविहीन रहँदा ब्याटिङमा मौका पाएनन् । हालसम्म पाँच खेलको २ पारीमा ब्याटिङको मौका पाएका विवेकले १५ रन बनाएका छन् । बलिङमा भने उनले विकेट लिन सकेका छैनन् । 

आक्रामक ब्याटिङ गर्न सक्षम विवेकलाई नेपाली टिमको भविष्यको रूपमा हेरिएको छ । यद्यपि उनले सुरुवातमा भने राम्रो संकेत देखाउन सकेनन् । 

३ लोकेश बम

आक्रामक ब्याटरको छवि बनाएका लोकेश बमले पनि नेपाली टिमको भविष्यको स्टारको उपमा पाएका छन् । तर, उनले पनि क्षमताअनुसार भने प्रभावित पार्न सकेनन् । यही वर्षको १२ फेब्रुअरीमा यूएईविरुद्धको खेल्दै टी–२० मा डेब्यु गरेका उनले ६ पारीमा १२२.२२ को स्ट्राइक रेटमा ६६ रन बनाएका छन् । 

क्रिकेट विश्लेषकले लोकेशमा आक्रामक ब्याटिङ गर्ने क्षमता भए पनि सट छनोटमा भने उनी चुकिरहेको बताउँदै आएका छन् । 

४. गुल्सन झा 

बलर गुल्सन झाले पनि यही वर्षको १९ फेब्रुअरीमा फिलिपिन्सविरुद्वको खेलबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरे । घरेलु क्रिकेटमा राम्रो गतिमा बलिङ गरेर प्रशिक्षक र कप्तानको मन जितेका उनले अन्तर्राष्ट्रियमा भने प्रभाव जमाउन सकेनन् ।

गुल्सनले हालसम्म एक मात्र टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले ५.३३ को इकोनमीमा एक विकेट लिए । उनले एकदिवसीयमा भने डेभ ह्वाटमोर प्रशिक्षक हुँदा नै डेब्यु गरेका थिए । वानडेमा गुल्शनले विकेट लिन सकेका छैनन् । पछिल्लो समय उनी चोटका कारण विश्राम गरिरहेका छन् । 

५. मोहम्मद आदिल आलम

यु–१९ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि अलराउन्डर मोहम्मद आदिल आलम प्रशिक्षकको नजरमा परे । र, उनले यु–१९ एसिया कप पनि खेल्न पाए । जहाँ आदिलले राम्रो प्रदर्शन गरे । त्यसपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पदार्पण गरे ।

उनले यही वर्षको ३१ मार्चमा पिएनजीविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरे । आदिलले डेब्युमै आक्रामक ब्याटिङ गर्दै समर्थकको मन जिते । आत्मविश्वासका साथ ब्याटिङ गरेका उनले ११ बलमा तीन छक्का र एक चौकासहित २८१.८१ को शानदार स्ट्राइकरेटमा ३१ रनको पारी खेले । 

डेब्युमै विस्फोटक ब्याटिङ गरेका आदिललाई समर्थकले भविष्यको उत्कृष्ट फिनिसरको रूपमा हरेका छन् । उनले ३ टी–२० मा ६० रन बनाएका छन् । ६.८० को इकोनमीमा बलिङ गरेका १८ वर्षीय आदिलले विकेट भने लिन सकेका छैनन् ।   

६. दिलिप नाथ

दिलिप नाथ नेपाली क्रिकेट समर्थकमाझ परिचित अनुहार हो । तर, उनले डेब्यु गर्न भने दासानायकेको दोस्रो कार्यकाल पर्खनुपर्यो । विकेटकिपर नाथले ३० मार्चमा मलेसियाविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्युका मौका पाए । 

डेब्यु खेलमा सात बलमा तीन चौकासहित २१४.२८ को स्ट्राइक रेटमा अविजित १५ रन बनाएका उनी त्यसपछि भने शान्त रहे । दिलिप पछिल्लो दुई खेलमा लगातार शून्यमै आउट भए । 

लामो समयको पर्खाइपछि अन्तर्राष्ट्रियमा डेब्युको मौका पाएका उनले त्यसको सदुपयोग भने गर्न सकेनन् । २४ वर्षीय नाथले एकदिवसीयमा भने डेब्यु गर्न बाँकी छ । 

७. भीम सार्की 

ब्याटर भीम सार्कीले पनि दासानायकेको दोस्रो कार्यकालमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे । उनले यही वर्षको २१ मार्चमा पिएनजीविरुद्धको खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् ।

डेब्यु खेलमा ब्याटिङको अवसर नपाएका २० वर्षीय भीमले दोस्रो र तेस्रो खेलमा पिएनजीविरुद्ध नै क्रमश: १७ र २६ रन बनाए । उनले दुई एकदिवसीय पारीमा ११६.२१ को स्ट्राइक रेटमा कुल ४३ रन बनाएका छन् । घरेलु क्रिकेटमा उत्कृष्ट फिल्डरको परिचय बनाएका भीमले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय क्रिकेटमा त्यही लय कायम राख्नेमा समर्थक आशावादी छन् ।

८. देव खनाल

युवा ब्याटर देव खनालले पनि यही वर्षको २४ मार्चमा पिएनजीविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्युको मौका पाए । डेब्युमा शून्यमै आउट भए पनि उनले दोस्रो खेलमा भने शानदार कमब्याक गरे । 

त्रिवि मैदानमा​पिएनजीविरुद्धको दोस्रो खेलमा देवले ७८.२६ को स्ट्राइक रेटमा ७२ रन बनाए । घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरेपछि उनले यु–१९ टिमको कप्तानी पनि पाए ।

एसिया कपमा आफ्नो कप्तानीमा एक म्याच पनि जिताउन नसके पनि देवले आफ्नो लय कायमै राखे । र, उनले राष्ट्रिय टिमको ढोका खोल्न सफल भए । भारतमा क्रिकेट सिकेका देवले लुम्बिनी प्रदेशलाई यु–१९ राष्ट्रिय प्रतियोगिता जिताएका थिए । जसमा उनले सर्वाधिक ७३४ रन बनाएका थिए । 

देवले दुई महिनाअघि सम्पन्न प्रधानमन्त्री कप टी–२० राष्ट्रिय प्रतियोगितामा ४ खेलमा १५८ रन बनाएका थिए । गत वर्षदेखि घरेलु क्रिकेटमा छाप छाडेका उनलाई नेपाली टोलीको भविष्य मानिएको छ ।  

  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार १३:३९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया