एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता, बागमतीमा सर्वाधिक

पछिल्लो एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता भएका छन् । २०७८ वैशाख २१ देखि २०७९ वैशाख १२ गतेसम्मको अवधिमा ती घटना दर्ता भएका हुन् । 

नेपाल पत्रकार महासंघले आज सार्वजनिक गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन’ मा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । 

‘गत वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका  घटनाको संख्यामा वृद्धि भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ प्रेस स्वतन्त्रता अनुगमन एकाइमा यस वर्ष विभिन्न प्रकृतिका ७५ वटा घटना दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी पेसागत असुरक्षासम्बन्धी घटना छन् ।’ 

गतवर्ष यसै अवधिमा जम्मा ४५ वटा घटना रेकर्ड भएका थिए । यस वर्ष दर्ता भएका ७५ वटा घटनामा २८१ पत्रकार तथा सञ्चारगृह प्रभावित भएको महासंघले जनाएको छ । सबैभन्दा बढी घटना बागमती प्रदेशमा देखिएको छ । 

‘लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रले भोग्दै आएको मुख्य समस्या श्रमजीवी पत्रकारको पेसागत अधिकारसम्बन्धी समस्या हो । २८ वर्षपश्चात् पनि धेरै जसो सञ्चारगृहले श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण कार्यान्वयन गरेका छैनन् । जसका कारण पत्रकारले न्यून पारिश्रमिक पाउने, समयममा पारिश्रमिक नपाउने, अनायासै निष्कासनमा पर्ने, नियुक्ति पत्र नै नपाउनेजस्ता समस्या अझै पनि यथावत् छन्,’ प्रतिवेदनमा भनिएको छ । 

पछिल्लो एक वर्षमा नेपालमा पत्रकार हत्या तथा बेपत्ताका घटना नभएका प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, पत्रकार गिरफ्तारका तीनवटा घटना भएको जनाइएको छ । 



त्यस्तै, स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका ९ वटा घटना भएका छन् । पत्रकारमाथि आक्रमणको १, दुर्व्यवहार तथा धम्कीका २८ वटा घटना भएका छन् भने पेसागत असुरक्षाका ३१ घटना दर्ता भएका छन् । 

‘यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका सबैभन्दा धेरै घटना बागमती प्रदेशमा भए भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा,’ प्रतिवेदनमा उल्लेख छ । 



महासंघ प्रेस स्वतन्त्रता अनुगमन एकाइको रेकर्डका अनुसार बागमती प्रदेशमा ५४ वटा यस्ता घटना भएका थिए भने सुदूरपश्चिम प्रदेशमा कुनै पनि घटना रेकर्ड गरिएन । त्यसैगरी प्रदेश नं १ मा ६, मधेस प्रदेशमा ६, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा २ र कर्णाली प्रदेशमा ५ वटा घटना भएका थिए । 

यस अवधिमा २३९ पुरुष पत्रकार, ३३ महिला पत्रकार र ९ वटा सञ्चार संस्था प्रेस स्वतन्त्रता उल्लंघनका घटनाबाट प्रताडित भएको प्रतिवेदनमा जनाइएको छ । 

घटनाको प्रकृतिका आधारमा हेर्दा यस वर्ष सबैभन्दा बढी पत्रकारको पेसागत सुरक्षाका घटना बढी देखिएका छन् । पेसागत असुरक्षाका घटनामा मुख्य रुपमा कोरोना महामारीको बहानामा पत्रकारलाई रोजगारीबाट हटाइएका वा तलब सुविधा उपलब्ध नगराइएका घटना मुख्य रहेका छन् । 

‘पेसागत असुरक्षाका ३१ वटा घटनामा १८६ पत्रकार पीडित भएका थिए । त्यसैगरी, पत्रकारमाथि दुर्व्यवहार वा धम्कीका २८ घटना रेकर्ड भएका छन् भने कब्जा वा अवरोधका ९ वटा घटना रेकर्ड भएका छन्,’ महासंघले प्रतिवेदनमा भनेको छ । 

  • प्रकाशित मिति : वैशाख २०, २०७९ मंगलबार १८:८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया