विराटनगरमा देउवाप्रति ओलीको व्यंग्य : गठबन्धन किन अरे भन्दा 'एमाले देखेनौँ एमाले' भन्दै तर्सिएर

नेकपा (एमाले) का अध्यक्ष तथ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनप्रति व्यंग्य गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ढोडको लौरो टेकेर हिँडिरहेको बताएका छन् ।

शनिबार विराटनगरमा एमाले विराटनगर महानगर कमिटीले आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘देउवाजीले के गरेको थाहा छैन । कांग्रेसले के गरेको थाहा छैन,' उनले भने, ‘गठबन्धनको नाममा उहाँ ढोडको लौरो टेकेर हिँडिरहनुभएको छ ।’

अध्यक्ष ओलीले पाँच दलीय सत्ता गठबन्धन एमालेको शक्ति देखेर डराएको टिप्पणी गरे । प्रधानमन्त्री देउवाप्रति लक्षित गर्दै अध्यक्ष ओलीले मुख्य प्रतिस्पर्धी कांग्रेस नै तर्सिएको दाबी गरे ।

‘त्यो गठबन्धन विचराको अनुहार हेर्नुस् । अनुहार हेर्दै कस्तो कस्तो,’ उनले भने, ‘गठबन्धन किन अरेभन्दा, एमाले देखेनौँ, एमाले भन्दै तर्सिएका छन् ।’

प्रधानमन्त्री देउतापत्नी आरजु देउवाले शुक्रबार एक कार्यक्रममा चार/पाँच जना युवालाई मलेसिया पठाइदिन्छु भनेको विषयमा समेत अध्यक्ष ओलीले कडा टिप्पणी गरे ।



‘केही चार/पाँच युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिन्छु मिल्छ ?’ उनले भने, ‘हामी चार/पाँच जना होइन चार/पाँच लाख बढीलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्छौं ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनका दिएको अभिव्यक्तिको पनि चर्को आलोचना गरे ।



‘उहाँहरूको भोट माग्ने शैली हेर्नुस् । मेरी छोरीलाई सक्नुहुन्छ भोट हाल्नुहोस, नत्र ठूलो दुर्घटना हुन्छ । जितेँ भने म खुसी हुन्छु, १५ वर्ष गठबन्धन चल्छ भने,’ उनले भने, ‘साथीहरूले जति भन्नु छ भन्नुस् । किनकि ३० गतेको मतदान उहाँहरूका लागि अन्तिम हो ।’

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति पनि कटाक्ष गरे । उनले माधव नेपाल आफैँ कुहिएको फर्सी रहेको बताए ।

‘एमालेलाई कुहिएको फर्सी भन्ने माधव नेपाल आफैँ कुहिएको फर्सी हुन् । यही पार्टीको उनले १५ वर्ष टुप्पामा बसेर रस चुसे । २१ महिना प्रधानमन्त्री भए,’ उनले भने, ‘त्यही पार्टीलाई त्यसो भन्ने ?’

अध्यक्ष ओलीले समृद्ध विराटनगरका लागि विराटनगर महानगरमा एमालेका उम्मेदवार सागर थापा र शिल्पा कार्कीको टिमलाई जिताउन आग्रह गरे । उनले थापाको टिमलाई जिताएर विराटनगरको चौतर्फी विकास आफूले जिम्मा लिने बताए ।

‘यस ठाउँको जिम्मेवारी एमालेले मात्र पूरा गर्नेछ । हेन्सम देखेर अरूलाई भोट नहाल्नुस्,’ उनले भने, ‘एमालेबाहेक अरू पार्टीबाट देश बन्दैन । त्यसैले ढुक्क भएर एमालेलाई मत दिनुहोस् ।’

  • प्रकाशित मिति : वैशाख २४, २०७९ शनिबार १८:३७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया