सन्दीपले लिए ३ विकेट, मेलबर्न सेमिफाइनलमा

काठमाडौं– अस्ट्रेलियामा जारी बिग ब्यास लिग (बिबिएल) अन्तर्गत समूह चरणको अन्तिम खेलमा विशाल जित निकाल्दै सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्ट सेमिफाइनल प्रवेश गरेको छ । मेलबर्नलाई सेमिफाइनलमा पुर्याउने क्रममा सन्दीपले महत्वपूर्ण ३ विकेट लिए । 

आइतबार सिड्नी सिक्सरलाई ९४ रनले हराउँदै मेलबर्न नकआउट चरणमा प्रवेश गरेको हो । समूह चरणका १४ खेलमा सात जित निकाल्दा सातै हार बेहोरेको मेलबर्न १४ अंकसहित चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । १ सय ६९ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको सिड्नी १३.४ ओभरमा ७४ रनमा अलआउट भयो । 

सिड्नीलाई अलआउट गर्ने क्रममा सन्दीपले ३ विकेट लिए । ३.४ ओभर बलिङ गरेका लामिछानेले एक चौकासहित ११ रन मात्रै दिए । सन्दीपले टम कर्रन, बेन ड्वारिस्स र ल्याएड पोपेलाई आउट गरे । मेलबर्नका लागि बोर्रल र जाम्पाले समान २ विकेट लिए ।

सिड्नीका ओपनर ह्युजले १२, टिम कुरानले १० तथा स्टेफन ओकिफले नटआउट ११ रनबाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

यसअघि, मेलबर्नका लागि कम्तान ग्लेन म्याक्सवेलले उत्कृष्ट पारी खेल्दै १ सय ६८ को टोटल बनाएका थिए । ४३ बलको सामना गरेका उनले ४ चौका र ६ छक्कासहित ८२ रन जोडे । यस्तै, ओपनर स्टनोइसले २३ बलमा ७ चौकासहित ३४ रन तथा पिटर ह्यान्ड्सकमले ३४ बलमा ४ चौकासहित ३५ रन जोडे । 



सेमिफाइनलमा मेलबर्नले पहिलो खेल १४ फेब्रुअरीमा होबर्टसँग खेल्नेछ भने दोस्रो खेलमा १५ फेब्रुअरीमा रेनेगड्सको सामना गर्नेछ । 
 



  • प्रकाशित मिति : माघ २७, २०७५ आइतबार १६:२८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया