बालविवाह रोक्न धर्मगुरुको भूमिका महत्वपूर्ण : नगरप्रमुख बजाल

जयपृथ्वी नगरपालिकाले बालविवाह रोक्नका लागि काम गर्ने नगरप्रमुख चेतराज बजालले बताएका छन् । बालविवाह न्यूनीकरणका लागि धर्मगुरुहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बजालले नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि विशेष रुपमा काम गर्ने बताए ।

जयपृथ्वी नगरपालिकाभित्र बालविवाह गर्ने परम्परा र त्यसले हुने महिलामाथिको हिंसालाई प्रोत्साहित गरेको बताउँदै उनले पालिकाभित्र रहेका सबै विद्यालयमा सचेतनामुलक कार्यक्रम गर्ने र विद्यार्थीको माध्यमबाट चेतना फैलाउन सहज हुने बताए ।

 बालविवाहलाई रोक्नका लागि नगरपालिकाले योजना बनाइरहेको छ । बालविवाहलाई निरुत्साहित गर्नका लागि हामी नगरपालिकामा दलित विकास समिति र महिला विकास समितिको निर्माण गर्दै छौँ । त्यसले समाजमा हुने गलत कार्य रोक्नका लागि सघाउ पुुग्ने अपेक्षा हामीले लिएका छौँ,’ नगरप्रमुख बजालले बताए । 

साथै बालविवाह न्यूनीकरणका लागि धर्मगुरुहरुको भूमिका महत्वपूर्ण रहेको समेत नगरप्रमुख बजालले बताए ।

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. शुक्रराज आचार्यले बझाङ एक पूण्यभूमि भएका कारण विश्वमा मानवता भन्ने कुरा पत्ता नलाग्दै बझाङमा मानवतावादी विचारको जन्म भएको बताए । बझाङबाट मानवतावादी विचारको आवाजलाई बुलन्द पार्नका लागि मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको भूमिका अहम् रहेको उनले बताए । 

उनले भने, ‘मानवतावादी विचार भएको व्यक्ति जन्माएको बझाङले शिक्षालगायतका कुरामा सोचेजति फड्को मार्न नसकेका कारण यहाँका पालिकाहरुले अबका दिनमा शिक्षालाई जोड दिनुपर्ने र हानिकारक संस्कार बालविवाहलाई निरुत्साहित पार्न आवश्यक रहको छ ।’्



कुनै पनि धर्मले उमेर नपुगी विवाह गरिदिँदाँ त्यसले पुण्य कमाइन्छ भनेर नभनेका कारण अब धर्मगुरुहरुबाट नै बालविवाहलाई रोक्न ठलो सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे । 

बझाङमा बालविवाह, छाउपडी प्रथा, महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने, पुरुषले गर्ने काम महिलाले गर्दा त्यसलाई समाजले नस्विकार्ने जस्ता संस्कार रहेको कार्यक्रममा सहभागीको भनाइ थियो । महिलामाथि हुने हिंसाको मुख्य कारण महिलामाथि गरिने व्यवहार पनि रहेको महिला अधिकार मञ्च बझाङका अध्यक्ष जयन्ती जोशीले बताइन् । 



नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष शैलेन्द्र रोकायले बझाङमा बालविवाहको मुख्य कारण विद्यालय उमेरका किशोरकिशोरीले प्रयोग गर्ने सामाजिक सञ्जाल र फोन रहेको बताए । स्थानीय तहहरुले यसप्रति ध्यान दिएर समेतनाका कार्यक्रम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बौद्ध धर्म मान्ने समुदायमा छाउपडी प्रथाको भयानक अवस्था नरहेको बताइन् । हिन्दु समुदायका नागरिकहरुले महिनावारी भएको समयमा महिलामाथि गर्ने गरेको तर आफ्नो समुदायमा नरहेको उनले बताइन् । 

‘बुद्ध धर्ममा महिलामाथि हिंसा नै छैन भन्ने होइन, उनले भनिन्, ‘तर महिनावारी भएको समयमा महिलामाथि गरिने व्यवहार हिन्दु धर्म मान्नेहरुको तुलनामा बौद्ध धर्म मान्नेमा कम छ ।’

  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार २०:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया