पश्चिम सेती निर्माण अघि बढ्छ, सुदूरपश्चिमको विकासमा टेवा पुग्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती भारतीय कम्पनीले निर्माण सम्पन्न गर्ने र त्यसले सुदूरपश्चिमको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले पश्चिम सेतीको भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताए । पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिएको उनको भनाई रहेको छ ।  

‘भारतका प्रधानमन्त्री म दिल्ली जाँदा होस वा उहाँ लुम्बिनी आउँदा होस् पञ्चेश्वरमा चासो राख्नु भएको छ भने पश्चिम सेतीमा भारतीय कम्पनीले लाइसेन्स लिइसकेको छ,’ उनले भने ‘त्यो भरपर्दो कम्पनी हो ठग्ने कम्पनी होइन । त्यो अवश्य पुरा हुने छ । पञ्चेश्वर र पश्चिम सेती बनेमा सुदूरपश्चिमको समग्र विकासमा टेवा पुग्नेछ ।’

उनले सुदूरपश्चिममा गौरीफन्टा नाकामा भारतसँग कुरा गरेर सहज बनाउने बताए । सुदूरपश्चिम प्रदेशको शिक्षा, स्वास्थ्यपछि पर्यटन र आर्थिक विकास गर्नका लागि महोत्सव आयोजना गरिएको उनको भनाइ छ । 

उनले दुवै छिमेकीसँग सम्बन्ध जोडिएको प्रदेश भएकाले आर्थिक हबको रूपमा विकास गर्ने सम्भावना रहेको बताए । प्रदेश सरकार र स्थानीय सरकारले यहाँको विकासका लागि समन्वय गरी काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । स्थानीय सम्भावनाहरूलाई पहिचान गरी प्राकृतिक सम्भावनाहरूको पहिचान गरेर सुदूरपश्चिमको विकास गर्नुपर्ने  उनले बताए । 

सरकारले ठूला आयोजना र मझौला आयोजनालाई प्राथमिकता दिएको भन्दै यसले यहाँको विकासमा योगदान दिने प्रधानमन्त्रीको विश्वास छ । उनले यस क्षेत्रको विकासका लागि रानी जमरा सिचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधरा–चादनी सुख्खा बन्दरगाह निर्माणको कामलाई पनि सरकारले प्राथमिकता दिएको बताए । 

उनले भने, ‘यस क्षेत्रको आर्थिक विकासका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि म प्रतिबद्ध छु ।’ उनले सुदूरपश्चिमको मुख्य व्यापारिक क्षेत्र धनगढीमा भएको महोत्सवले यस क्षेत्रमा उत्पादन भएका वस्तुको बजारीकरणमा मदत पुग्ने बताए । उनले सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको क्षेत्र पनि भएको बताए । 





  • प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार १७:२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया