यी हुन् सबैभन्दा कम उमेरका सांसद

आमनिर्वाचन २०७९ मा युवा सहभागिताको आवाज व्यापक रुपमा उठ्यो । नयाँ दलमा मात्र होइन, कांग्रेस–एमालेलगायत पुराना दलहरुमा पनि युवा नेतृत्वको आवश्यकताबारे निकै बहस भयो । प्रतिनिधिसभाको सदस्य बन्नका लागि न्यूनतम २५ वर्ष हुनुपर्ने संवैधानिक व्यवस्था छ। 

राजनीतिमा युवा सहभागिताबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जति बहस भए पनि नवनिर्वाचित संसदमा वयष्कहरुकै बाहुल्य रह्यो । नवनिर्वाचित प्रतिनिधिसभामा दुई सय ७५ जना सांसदमध्ये सातजना मात्रै ३० वर्षमुनिका सांसद छन् । जसमा पाँचजना समानुपातिकबाट आएका हुन् भने दुईजना प्रत्यक्ष निर्वाचन जितेर सांसद बनेका छन् ।

आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको १ सय १० जना सांसदको विवरण बुधबार सार्वजनिक गरेको छ। प्रत्यक्षतर्फका सांसदहरुको विवरण यसअघि नै सार्वजनिक भएको थियो ।

प्रतिनिधिसभामा दुई सय ७५ जना सांसदमध्ये सबैभन्दा कान्छी सांसद हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी । उनको उमेर २५ वर्ष मात्रै छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय डाँगी सबैभन्दा कम उमेरकी सांसद हुन्। उनको स्थायी घर झापाको भद्रपुर–१ हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकै बिनिता कठायत दोस्रो कम उमेरकी सांसद बनेकी छिन् । चन्दननाथ नगरपालिका–५ जुम्लाकी उनी २६ वर्षकी मात्रै भइन् । उनी पनि समानुपातिकबाट निर्वाचित भएकी हुन्। 

स्वतन्त्र पार्टीकै सोविता गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित भएकी छिन् । दोलखाकी गौतमको उमेर २७ वर्ष मात्रै छ। उनी प्रत्यक्षतर्फ निर्वाचितमध्ये सबैभन्दा कान्छी सांसद हुन् । 



त्यस्तै, औरही गाउँपालिका ४ सिरहाकी २८ वर्षीया विनिताकुमारी सिंह जनमत पार्टीबाट निर्वाचित भएकी छिन्। 

त्यस्तै, राप्रपाले पनि २८ वर्षीया अनिशा नेपालीलाई दलित कोटाबाट प्रतिनिधिसभाको सदस्य बनाएको छ । दार्मा गाउँपालिका ४ सल्यानकी अनिशा पनि कम उमेरमै सांसद बनेकी छिन्। 



मुस्ताङबाट प्रत्यक्षतर्फ निर्वाचित २९ वर्षीय योगेश गौचन थकाली अर्का कम उमेरका सांसद हुन्। उनी नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका हुन्। 

त्यस्तै, माओवादीले पनि ३० वर्षकी छिरिङ लामु तामाङलाई सांसद बनाएको छ । समानुपातिक तर्फबाट निर्वाचित उनी पनि कम उमेरकी सांसद भएकी छिन्।

  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार २०:४१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया