प्रदेश १ सरकारमा सामेल हुन कांग्रेसलाई एमाले नेता कार्कीकाे आग्रह

नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १मा प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई पनि सरकारमा सामेल हुन आग्रह गरेका छन् । पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘म त प्रदेश १ मा कांग्रेसलाई समेत सरकारमा आउनुहोस् भन्छु । सबै मिलेर गए प्रदेश बलियो बनाउन सहयोग पुग्नेछ ।’

उनले प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय सीमाअघि नै बहुमत लिएर सरकार गठनको दाबी पेस गर्ने बताएका छन् । उनले सुरूमा एमाले माओवादी, राप्रपा र जसपासहितको सरकार बन्ने दाबी गरे । उनले एकीकृत समाजवादीलाई समेत प्रदेश १ सरकारमा सामेल गराउने विषयमा कुरा भइरहेको जानकारी दिए । 

उनले केन्द्रमा भएको नयाँ गठबन्धनका आधारमा प्रदेश १ मा पनि सरकार गठन हुने बताए । अहिले नै कति मन्त्रालय बनाउने र कुन–कुन मन्त्रालय बाँडफाँड गर्ने विषय टुंगोमा नपुगे पनि सरकार गठनका लागि दाबी प्रस्तुत गर्ने विषयमा सहयात्री दलहरुसँग छलफल भएको बताए ।

एमालेकै नेतृत्वमा सरकार गठनको दाबी गर्दै नेता कार्कीले केन्द्रबाट औपचारिक जानकारी आएपछि सरकार गठनकाे कामलाई तीव्रता दिने बताए । 

यता, माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो मौसमले भने साे प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गरेको बताए । उनले भने, 'केन्द्रबाट जे निर्णय भएर आँउछ त्यहीअनुसार सरकार बन्छ । हामी केन्द्रको निर्णय पर्खिएर बसेका छौँ ।'

प्रदेश प्रमुखले सरकार गठनका लागि पुस २४ गते ५ बजेसम्मकाे लागि समय सीमा दिएका छन् । 





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार १६:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया