भावी राष्ट्रपतिका लागि राष्ट्रपति भण्डारीले जुराइदिएको ओली–नेपाल भेट

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भावी राष्ट्रपतिको दौडमा समावेश भएपछि नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ ।

नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचना गर्दै आइरहेका माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रुपमा ओलीले नै प्रस्ताव अगाडि सार्नुले यसलाई थप रोचक बनाएको देखिन्छ ।

ओली र नेपालबीच सोमबार साँझ महाराजगन्जमा रहेको नेकपा एकीकृत समाजवादीका एक नेताको घरमा भेटघाट भएको थियो । र, यो भेटको तारतम्य मिलाएकी थिइन्, राष्ट्रपति विद्यादेवी भण्डारीले ।

‘दुई पार्टी मिल्नुको विकल्प छैन भन्दैे उहाँले लिनु भएको अग्रसरतालाई दुवै पार्टीका नेताहरुले सकारात्मक रुपमा लिनु भएको हो र उहाँहरुबीच भेट भएको हो,’ यो विषयमा जानकार नेकपा एमालेका एक नेताले बताए, ‘राष्ट्रपति भण्डारीले गत सातादेखि नै नेपाललाई राष्ट्रपति बनाएर दुई पार्टी एकता पनि गर्न सकिने विषयमा अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो ।’

राष्ट्रपतिमा नेपालको नाम चाहिँ ओलीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको छलफलमा लिएका थिए । उनले यसअघि प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदा राष्ट्रपति आफूहरुले पाउनु पर्ने सहमति भएको सम्झाउँदै नेकपा एमालेबाटै केशव बडाल, डोरमणि पौडेल, विष्णु रिमाल तथा सुवास नेम्वाङको नाम लिएका थिए । तर, यी कुनै नाममा पनि प्रचण्डले सहमति जनाएनन् । 

प्रचण्डले नेकपा एमालेलार्ई राष्ट्रपति नदिने संकेत गरेपछि ओलीले माधवकुमार नेपालको नाम अगाडि सारेका थिए । उनले नेपाललाई भावी राष्ट्रपतिका रुपमा अगाडि सारे पनि प्रधानमन्त्री प्रचण्डले यसबारे ठोस निर्णय गरिसकेका छैनन् । उनीनिकट माओवादी केन्द्रका नेताहरु भने राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्नु पर्ने धारणा राखिरहेका छन् ।



प्रधानमन्त्री नेकपा माओवादी केन्द्रबाट, सभामुख नेकपा एमालेबाट भएकाले अब राष्ट्रपति नेपाली कांग्रेसबाट हुँदा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्न सकिने अहिलेको अवस्था रहेको तर्क उनीहरुले गरिरहेका छन् ।

जे होस्, राष्ट्रपति भण्डारीको सक्रियतामा फेरि माधवकुमार नेपाल र केपी शर्मा ओली नजिकिएका छन् । राष्ट्रपतिमा माधवकुमार नेपाल नेकपा एमालेबाट उम्मेदवार बनेको खण्डमा यी दुई पार्टीले एकता गर्नेसम्मको तयारी गरिएको छ । 



यही विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार दिउँसो बालकोटमा भेटसमेत भएको थियो ।

  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार १९:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया