गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ हट्दैन : गगन थापा
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उनले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने बताए । 

‘आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो,’ उनले भने । कांग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभाष दिन प्रतिबद्ध रहेको भन्दै उनले गठबन्धनलाई पाँच वर्ष काम नगर्ने छुट नभएको बताए ।

महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको बताए । पौडेल गणतन्त्र स्थापना, लोकतन्त्र र संविधानका लागि लडेको निष्ठावान व्यक्ति भएको भन्दै उनले राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने बताए ।

उनले उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् बिस्तारको काम अघि बढ्ने समेत बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पदको लोभ नगरी संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनलाई समर्थन गर्नुभएको उनको भनाइ छ । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आठ दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए । 

उनले नयाँ गठबन्धनले जनतामा सकारात्मक छाप समेत परेको समेत दाबी गरे । राष्ट्रपति पदका उम्मेदवार पौडेल लोकतान्त्रिक आन्दोलनको अगुवा हुनुका साथै निष्ठावान व्यक्ति भएको तथा सबै हिसाबले योग्य नेता भएकाले उनलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताए ।



नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले प्रजातन्त्र, लोकतन्त्रको रक्षाका लागि लडेका रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित गर्नु नै गठबन्धनको मर्म र भावना भएको बताए ।

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति पदका उम्मेदवार पौडेललाई अहिले दश दलको समर्थन प्राप्त भएको बताए । उनले भने, ‘प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका नेता पौडेललाई दश दलको समर्थन छ, उहाँलाई निर्वाचित गर्नुको विकल्प छैन ।’ 



  • प्रकाशित मिति : फागुन १९, २०७९ शुक्रबार १६:९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया