कांग्रेस ठूलो गल्ती गरेर ब्युँझिएको छ, एमालेको उक्साहटमा लाग्दैन : गिरिराजमणि पोखरेल

माओवादी केन्द्रका उपमाहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मुलुकलाई द्वन्द्वतर्फ धेकेल्न केही शक्ति लागिपरेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डविरुद्ध भएको फैसलालाई संकेत गर्दै उपमाहासचिव पोखरेलले टिम बनाएर केही तत्त्व समस्या बल्झाउनेतर्फ लागेको आरोप लगाए ।

आज महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संक्रमणकालीन न्यायका काममा ढिला भएको स्वीकार गर्दै तीव्रतापूर्वक यी कामलाई टुंगो पुर्‍याउनुपर्ने तर्क गरे । ‘द्वन्द्वको दुवै पक्षमा परेका समस्यालाई शान्ति प्रक्रियाका राजनीतिक शक्ति मिलेर हल खोज्नुपर्छ,’ उनले भने । 

कांग्रेससहितको आठदलीय गठबन्धनमा कुनै शंका नगर्न पनि उपमहासचिव पोखरेलले आग्रह गरेका छन् । राष्ट्रपति निर्वाचनपछि राजनीतिक समीकरण परिवर्तन हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘नेपाली कांग्रेस ठूलो गल्ती गरेर ब्युँझिएको छ, फेरि एमालेको उक्साहटमा लाग्दैन र पुराना गल्ती दोहोर्‍याउँदैन ।’

आठदलीय गठबन्धनमा अझै राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी थपिनेमा पनि उपमहासचिव पोखरेलले विश्वास व्यक्त गरेका छन् ।

शक्ति पृथकीकरणको कोणबाट प्रधानमन्त्री माओवादीसँग, सभामुख एमालेसँग, राष्ट्रपति नेपाली कांग्रेससँग पुग्दा प्रकान्तरले देशलाई फाइदा नै पुग्ने जिकिर गर्दै उपमाहासचिव पोखरेलले  शक्ति  दुरुपयोग गर्ने प्रवृत्तिलाई यसले चेक एण्ड ब्यालेन्समा राख्ने दाबीसमेत गरे ।

जनताले खोजेजस्तो नहुँदा मूलधारका पार्टीको बहुमत नआएको दाबी गर्दै उनले सरकारले प्रणाली निर्माणलाई चुस्तदुरुस्त र अर्थतन्त्रमा देखिएका जटिल समस्यालाई हल गर्ने बताए ।





  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार २०:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया