ढाकाकाे पुरानाे अपार्टमेन्ट क्षेत्रमा आगलागी, कम्तीमा ७० को मृत्यु
किन पटकपटक हुन्छ ढाकामा भीषण आगलागी ?

ढाका– बंगलादेशको राजधानी ढाकास्थित अपार्टमेन्टहरुले भरिएको एक पुरानो बजारक्षेत्रमा आगलागी हुँदा कम्तीमा ७० जनाको ज्यान गएको छ । 

बुधबार राती राजधानी ढाकाको चकबजारस्थित थुप्रै अपार्टमेन्ट बिल्डिङ रहेको क्षेत्रमा फैलिएको आगो बिहीबार बिहानसम्म नियन्त्रणमा आएको थिएन । 

आगलागीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको त्यहाँको फयर कन्ट्रोल रुमका अधिकारीहरुले बताएका छन् । सो क्षेत्रमा फसेकाहरुको उद्धारकार्य जारी रहको र मृतकको संख्या अझै बढ्न सक्ने उनीहरुको भनाइ छ । 

घाइते ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये केहीको अवस्था गम्भीर छ । 

अपार्टमेन्ट क्षेत्रमा मृतकका आफन्तहरुको भिड लागेको छ । अधिकारीहरुका अनुसार, मृतकमध्ये अधिकांशको शरीर जलेर चिन्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षणबाट शव पहिचान गर्नुपर्नेछ ।  

आगालागीको कारण यकिन भइसकेको छैन । यद्यपि, ग्यास सिलिन्डर पड्किएर आगो फैलिएको हुन सक्ने अधिकारीहरुको अनुमान छ । 



सो क्षेत्रमा अति–प्रज्ज्वलनशील रसायनका भन्डार रहेकाले पनि आगो यति भयानक रुपमा फैलिएको फायर ब्रिगेड अफिसरहरु बताउँछन् । 

अपार्टमेन्टसँगै केमिकल वेयरहाउस थियो, जहाँ प्लास्टिक ग्रान्युल, बडी स्प्रेजस्ता ‘इन्फ्लेमेबल केमिकल’को भन्डार थियो । 



‘आगलागी हुँदा सो क्षेत्रमा ट्राफिक जाम थियो । त्यसैले पनि मानिसहरु त्यहाँबाट भाग्न सकेनन्,’ बंगलादेशी फायर सर्भिस चिफ अलि अहमदलाई उद्धृत गर्दै अल जजिराले अनलाइन संस्करणमा लेखेको छ । 

आगलागी भएको ढाकाको पुरानो बजारक्षेत्र साँघुरा गल्लीहरुले भरिएको छ । 

कमजोर ‘प्रकोप तथा दुर्घटना सुरक्षा’लाई लिएर बंगलादेश पटकपटक आलोचित हुँदै आएको छ । अस्तव्यस्त सहर, साँघुरा गल्लीमा ठुल्ठूला बिल्डिङ र एउटै बिल्डिङलाई आवासीय र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न दिने नीतिले यहाँ यस्ता दुर्घटनाको जोखिम ज्यादै धेरै छ ।

सन् २०१० मा पनि राजधानी ढाकाको एक पुरानो बिल्डिङमा भीषण आगलागी भएको थियो । जहाँ, १२० भन्दा बढीले ज्यान गुमाएका थिए । 

  • प्रकाशित मिति : फागुन ९, २०७५ बिहीबार १७:७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया