नेपाली कांग्रेसका महामन्त्री गगन थापाले परिणाममुखी काम गर्न नसक्ने मन्त्रीले पाँच महिनामा घर फर्किनुपर्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस, बाँकेले नेपालगञ्जमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
बर्खायामसम्ममा परिणाम दिन नसक्ने मन्त्रीलाई फिर्ता गरिने उनको भनाइ छ । थापाले जघन्य अपराध, स्वेच्छाचारी हत्या गरेका व्यक्तिले मुक्ति पाउने गरी संसदले कुनै कानुन नबनाउने बताए।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका महामन्त्री थापाले आफूले गएको चुनावमा पनि एक्लै जानुपर्छ भनेको स्मरण गराउँदै ०८४ सालको चुनावमा नेपाली कांग्रेस एक्लै लड्ने बताए।
उनले आगामी चुनावमा जुनसुकै हालतमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने दोहोर्याए। कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मैकुलाल वाल्मीकि र लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गुटबन्दीका कारण कांग्रेस कमजोर भएको बताए ।
सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरणसँगै प्रजातन्त्र सेनानी, पूर्वपार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, सहिद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेलाई सम्मान गरिएको थियो।
उक्त सम्मेलन कांग्रेस जिल्ला सभापति नारायण गौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।