'प्रसाद २' प्रदर्शन राेक्न उच्च अदालत पाटनकाे अल्पकालीन आदेश

उच्च अदालत पाटनले यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ को रिलिज रोक्न अल्पकालीन आदेश दिएको छ ।

आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म १० प्रतिशत स्वामित्व रहेका निर्माताले विनाअनुमति रिलिज गर्न लागेको भन्दै केशव पाण्डेले फिल्मको तत्काल रिलिज रोक्न रिट हालेका थिए ।

उनको रिटमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले अन्तरिम आदेशसँगै चलचित्र विकास बोर्डका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

पाण्डेको पक्षबाट अधिवक्ता सरोज अधिकारी, श्यामकुमार विश्वकर्मा र अरुण पौडेलले बहस गरेका थिए । पाण्डेले ‘प्रसाद २’ का निर्माता सुवास थापाले फिल्ममा सबै लगानी गरेर ९० प्रतिशत स्वामित्व हुने सम्झौता गरे पनि आफ्नो पैसा र स्वामित्व पनि नदिएको दाबी गरेका छन् ।

पाण्डेका अनुसार निर्माता थापाले उनको ६२ लाख ५० हजारसहित फिल्मका प्राविधिकको ११ लाख, सुटिङ गरेको ल्वाङगाउँका स्थानीयको १७ लाखलगायत रुपैंयाँ अझैसम्म दिएका छैनन् ।

सोमबार चलचित्र विकास बोर्डमा भएको सरोकारवालाको बैठकमा फिल्म रिलिजका लागि सहमति दिने निर्णय गरे पनि बैठकमा रहेका पाण्डेले सहमति पत्रमा हस्ताक्षर गरेका थिएनन् ।





  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार १७:३७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया