चलचित्रको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिन सञ्चारन्त्री शर्माको जोड

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब चलचित्रको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने समय आएको बताएकी छन् । चलचित्र निर्माता संघले आयोजना गरेको एक कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले यस्तो बताएकी हुन् । 

नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान एवं नेपाली चलचित्र उद्योगका विभिन्न संघ–संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन सो कार्यक्रम आयोजना गरिएको थियो । अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिस्पर्धा गर्ने समय आएकाले पनि गुणस्तरमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

नेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न लायक बनाउन चलचित्रकर्मीलाई लाग्न आग्रह गर्दै उनले यसमा आवश्यक कानून र नीति निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

चलचित्र क्षेत्रको नीतिगत कामका लागि सरकारी निकायका रूपमा चलचित्र बोर्ड सक्रिय रहेको उल्लेख गर्दै उनले बोर्डमार्फत चलचित्र क्षेत्रका समस्या र नीतिगत समाधानका उपाय केन्द्रीकृत गर्न आग्रह गरिन् । 
    
अहिले पनि नेपाली चलचित्र क्षेत्र ०२६ सालको ऐनद्वारा निर्देशित भएको उल्लेख गर्दै मन्त्री शर्माले हिजो श्यामश्वेत चलचित्र चलाउने कानूनले आजको डिजिटल युगलाई प्रतिनिधित्व गर्न नसक्ने भएकाले चलचित्र ऐन परिमार्जन थालिएको बताइन् । 

चलचित्र आम सञ्चार क्षेत्रको सशक्त माध्यम भएकाले यसलाई राजनीतिक र सामाजिक परिवर्तनको सन्देश प्रवाह गर्ने माध्यमका रूपमा पनि परिचालन गर्नु आवश्यक रहेकोमा उनले जोड दिइन् । 

नेपाल प्राकृतिक हिसाबले सुन्दर र सांस्कृतिक हिसाबले विविधतायुक्त मुलुक भएकाले यसलाई राम्रोसँग चलचित्रमा प्रस्तुत गरेर राष्ट्रियअन्तर्राष्ट्रियस्तरमा प्रचार गर्नसके चलचित्रको माध्यमबाट देशको समृद्धिमा ठूलो योगदान गर्न सकिने विश्वास पनि उनले व्यक्त गरिन् । 



चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली चलचित्र उद्योगका विभिन्न संघ–संस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई सम्मान गरिएको थियो । 



  • प्रकाशित मिति : चैत २२, २०७९ बुधबार १९:३८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया