कर्णाली प्रदेश : बजेट मनोमानी ढंगले बाँडेको भन्दै प्रदेशसभा सदस्यहरुको असन्तुष्टि

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले मनोमानी ढंगले बजेट विनियोजन गरेको भन्दै प्रदेशसभा सदस्यहरुले असन्तुष्टि पोखेका छन् । बुधबार प्रदेशसभाको बैठकमा बोल्दै उनीहरुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत जानकारी नदिई आफ्नो क्षेत्रमा विनियोजन गरेको प्रदेशसभा सदस्य सुरेश अधिकारीको आरोप छ । 

मन्त्री शाहले दैलेखमा २३, सुर्खेतमा १८, जुम्ला र जाजरकोटमा चार–चार, कालीकोटमा दुई, हुम्ला, डोल्पा र रुकुमपश्चिममा एक–एक गरी ५४ योजनाका लागि बजेट विनियोजन गरेको उनको आरोप छ । मुगु र सल्यानमा भने विविध शीर्षकमा बजेट नै विनियोजन नगरिएको उनको गुनासो छ । 

बैठकमा प्रतिनिधिसभा सदस्य खड्गबहादुर पोखरेलले एकैरातमा २३ करोड बजेट बाँडिएको आरोप लगाए । प्रदेशसभा सदस्य हिक्मत विष्टले सभालाई प्राज्ञिक एवं बौद्धिक थलो बनाउनुपर्नेमा जोड दिए । 

प्रदेशसभा सदस्य कलबहादुर हमाल, जानकी सिंह, शेरबहादुर बुढा, बलिमाया बुढा, लक्ष्मी सुनार, दक्षिणा शाही, महेन्द्र केसी, विजया बुढा, पूर्णबहादुर खत्री, सन्तोषी शाही, इन्द्राकुमारी शाहीलगायतले कर्णालीको शिक्षा, स्वास्थ्य, विपद् जोखिम, नागरिक राहत, कृषिउपज, बजेट तथा योजना कार्यान्वयनजस्ता सार्वजनिक सरोकारका विषयमा धारणा राखेका थिए । 

प्रदेशसभाको अर्को बैठक ०८० वैशाख ४ गते दिउँसो ३ बजे बस्नेछ । 





  • प्रकाशित मिति : चैत २२, २०७९ बुधबार २१:१५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया