विश्वका नेपालीलाई सांस्कृतिक एकतामा जोड्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभर छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिका माध्यमबाट एकताबद्ध बनाउन आग्रह गरेका छन् । 

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा काठमाडौंमा सुरु भएको ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका आयोजकसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले त्यस्तो आग्रह गरेका हुन् । 
 
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारका ५० भन्दा बढी देशबाट छानिएका नेपाली कलाकार हाल काठमाडौं आएका छन् । प्रधानमन्त्री प्रचण्डले संसारमा रहेका नेपाली नागरिकलाई यसरी कला र संस्कृतिका लागि एक ठाउँमा जम्मा पार्ने कार्यको प्रशंसा पनि गरे । 

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा बोर्ड सदस्यद्वय केबि कार्की र ओम गुरुङसहितको  प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री प्रचण्डले उक्त कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिन आग्रह गरेका थिए । 

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न उक्त गायन र नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।

फाउण्डेसनका अध्यक्ष अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी प्रधानमन्त्रीलाई दिएका थिए ।  





  • प्रकाशित मिति : चैत २४, २०७९ शुक्रबार २०:४७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया