सांसद ज्ञानेन्द्र शाहीको रचना :‘लडाइँ’
फाइल तस्बिर

सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा एउटा रचना लेखेका छन् । उनले  ‘छिमेकीले हाम्रो घर खेत नै मेरो भन्न थाल्यो भने लडाइँको अन्त्य हुन्छ कि सुरुवात?’, भनेर रचना मार्फत् नै प्रश्नसमेत गरेका छन् । यस्तो छ उनको रचना : 

‘लडाइँ’
हिजो
एक टुक्रा बारीको निम्ति
तिमी खुब लड्यौ
आफ्नै भाइसँग
मझेरीमा किल्ला गाडियो
सम्बन्ध पानी बाराबारको भयो

आज
छिमेकीले हाम्रो जमिन मेरो भन्छ
हाम्रो खोला मेरो भन्छ,
चुपचाप हेरिराख्न के मान्छ र तिम्रो मुटु?

दाइ, बिर्सनुभयो र?
साँधको ढुङ्गा सारेको निहुँमा 
हजुरको खुकुरीले भाइको गर्दन चुमेको
हेर्नुस्, अहिले छिमेकीले साँधै नराखी
मोटर गुडायो
खुकुरी दापभित्र राखेर बस्न मान्छन् र ती हात?

बहिनी, तिमी सम्पत्तिमा
समान हक माग्छौ नि...
हेर, छिमेकीले भनिरहेछ
माथिको डाँडा उसको अरे
तलको फाँट उसको अरे
भोलि केही बाँकी नै नरहे...
हामी के भाग लगाउने?
आफ्नो माटोमा अरुले राज गरेको हेर्न मान्छन् र तिम्रा आँखा?

लड्न त हामी लडिरहेका छौँ
तर, सधैँ आफ्नाहरु सँग
दाइले भाइको खुट्टा तान्दै 
भाइले दाइको खुट्टा तान्दै 
हामी धेरै तल भासियौँ
र छिमेकीले
हाम्रो घर खेत नै मेरो भन्न थाल्यो भने
लडाइँको अन्त्य हुन्छ कि सुरुवात? 





  • प्रकाशित मिति : चैत २५, २०७९ शनिबार ९:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया