२८ करोडको धनगढी सिटी हल प्रयोगविहीन, घाटाको डरले स्वामित्व लिन पन्छिदै उपमहानगर

कैलालीमा करोडौं बजेट खर्च भएको धनगढी सिटी हल प्रयोगमा आउन सकेको छैन । धनगढी उपमहानगरपालिका–८ मा निर्माण सम्पन्नको १० महिना पुग्दा पनि सिटी हल प्रयोगमा आउन नसकेको हो ।   

२८ करोड लागतमा बनेको सिटी हलको गेटमा हाल ताल्चा लगाइएको छ । गत जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर, त्यतिबेला उद्घाटन हुन सकेन ।  

एक बिघा क्षेत्रफलमा बनेको यस सिटी हलमा ९ सय जना अट्ने क्षमता रहेको अडिटोरियम हल, २ सयजना अट्ने क्षमताको सेमिनार हल, एक प्रदर्शनी कक्ष, एक अति विशिष्ट कक्ष, दुई रियल्सन हल र अन्डरग्राउन्ड पार्किङसहितको निर्माण भएको छ । 

स्थानीयसमेत रहेका निवर्तमान वडाध्यक्ष नारायण वरालले सिटीहल भवन निर्माण भइसक्दा पनि सञ्चालनमा नआउनु दुःखद् भएको बताए । ‘मेरो पालामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूलाई बोलाए उद्घाटन गर्ने कार्यक्रम तय भएको हो’, उनले भने, ‘तर, भवन निर्माणको काम थोरै बाँकी रहेकाले उद्घाटन हुन सकेन ।’  

उपमहानगरपालिकाले के कारणले सञ्चालनमा ल्याउन नसकेको त्यो आफूलाई थाह नभएको उनले बताए । सिटी हल सञ्चालनमा आएपछि आर्थिक उपार्जन गर्ने आसमा बसेका स्थानीय पनि निरास भएका छन् । 

‘सिटीहल निर्माण सुरु भएपछि गाउँमा चहलपहल बढ्ने भएकोले व्यापार पनि चल्थ्यो कि भन्ने आशामा हामीहरू छौँ । भवन बनेको देख्दा राम्रो लाग्छ । तर चल्ने छाटकाट छैन,’ स्थानीय सुखदेव रानाले भने ।



सरकारले भवन सञ्चालनमा ल्याउन प्राथमिकताका साथ काम गर्नुपर्ने उनको भनाइ छ । व्यापारिक, राजनीतिक र अन्य दृष्टिकोणबाट पनि केन्द्रका रूपमा रहेको धनगढीमा बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता ठूला कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर उक्त भवन निर्माण गरिएको हो । 

त्योबेला सबै क्षेत्रबाट सिटी हल निर्माण गर्नुपर्ने आवाज उठ्यो । त्यसपछि संघीय सरकारले बजेट र धनगढी उपमहानगरपालिकाले जग्गा दिने गरी योजना बनेको थियो । केन्द्रबाट २८ करोड बजेट छुट्याएपछि धनगढी–८ मा उपमहानगरपालिकाले डेढ बिघा जमिन उपलब्ध गराएको थियो ।



सिटीहल निर्माण भएको एक वर्ष पुग्नैलाग्दा पनि धनगढी उपमहानगरपालिकाले भने सञ्चालनका लागि चासो देखाएको छैन । हलमा मासिक लाखौँ खर्च गर्नुपर्ने र सोहीअनुसारको कारोबार पनि गर्नुपर्ने हुनाले उपमहानगरपालिकाले सञ्चालनका लागि चासो नदेखाएको आरोप लागिरहेको छ ।

धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरीले सिटी हल सञ्चालनका विषयमा उपमहानगरपालिकाले कुनै धारणा नबनाएको बताए । ‘हल सञ्चालनका लागि अझै २ करोड बजेट लाग्छ, त्यसमाथि कर्मचारी चाहियो । उपमहानगरपालिकासँग बजेट छैन,’ उनले भने, ‘सञ्चालन गरेपछि फाइदा हुन्छ कि हुन्न भन्न सकिन्नँ । फाइदा नहुने भए किन चलाउनु?’

उनका अनुसार उपमहानगरपालिकालाई सञ्चालनका विषयमा सम्बन्धित निकायबाट आधिकारिक निर्णय पनि आएको छैन । कार्यविधि नभएकाले पनि हल सञ्चालनमा ल्याउन ढिलाइ भइरहेको बताइएको छ । सिटी हल निर्माणका लागि बिकेवाई एमके रोयल जेबी र सरकारबीच २ माघ २०७६ मा सम्झौता भएको थियो ।   

हस्तान्तरणमै अलमल 

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढी कार्यालय निर्माण सम्पन्नको सिटीहल कुन निकायलाई हस्तान्तरण गर्ने भन्नेमा अन्योलमा छ । मापदण्ड नभएकाले हस्तान्तरणमा अन्योल भएको कार्यालयले जनाएको छ । 

‘विभाग मापदण्ड बनाउँदैछ । धनगढीसहित देशका अन्य ठाउँमा पनि सिटी हल निर्माण भएका छन्, सबै सभाहल सञ्चालनका लागि मापदण्ड बनाउन थालिएको हो,’ इकाई प्रमुख रमेश थिङले भने, ‘सञ्चालनका लागि कोलाई दिने भन्ने निर्णय भएको छैन । विभाग मापदण्ड बनाउँदैछ । मापदण्ड बनाएपछि हामी सञ्चालनका लागि हस्तान्तरण गर्छौँ । अहिले निर्माण कम्पनीले हेर्दैछ ।’

धनगढीमा अहिले सिटी हलको अभावमा होटलहरूमा कार्यक्रम हुँदै आएका छन् ।  

  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार ८:६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया