धनगढीमा कक्षा ८ मा १७ विद्यालयको नतिजा शून्य, सच्चिने मौका दिन भन्दै विद्यालयको गुहार

कैलालीको धनगढी उपमहानगरपालिकामा कक्षा ८ को नतिजा हालसम्मकै कमजोर देखिएको छ । विगतमा आन्तरिक मूल्याकंनबाट विद्यार्थीको ग्रेड दिइने गरे पनि यसपटक कडाइका साथ परीक्षा सञ्चालन गरेपछि यहाँ कक्षा ८ को नतिजा अहिलेसम्मकै कमजोर देखिएको हो ।

उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाका अनुसार १६ सामुदायिक र एक संस्थागत गरी १७ विद्यालयको नतिजा शून्य देखिएको छ । अर्थात् १७ विद्यालयमा कक्षा ८ मा कुनै पनि विद्यार्थी उत्तीर्ण भएका छैनन् । 

नतिजा निकै खराब आएपछि शिक्षकहरू एकपटक फेरि मौका दिन उपमहानगरपालिकासमक्ष आग्रह गरेका छन् ।  उपमहानगरभित्र सञ्चालित १ सय ६ विद्यालयमा अध्ययन गर्ने ४ हजार ५ सय ३३ विद्यार्थीमध्ये २ हजार ३ सय ४१ ले गणित विषयमा ननग्रेड प्राप्त गरेका छन् ।

शून्य नतिजा ल्याउने विद्यालयमा नवज्योति आधारभूत, जनता राष्ट्रिय मावि, भैरवबाबा आधारभूत, सरस्वती आधारभूत, शिव मावि, भानु माविलगायत रहेका छन् ।

धनगढी उपमहानगरपालिका–१३ श्रीलंकास्थित नवज्योति आधारभूत विद्यालयमा ४० जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएकोमा सबैको ननग्रेड आएको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित जनता राष्ट्रिय माविले शून्य नतिजा निकालेको छ । विद्यालयमा १८ जनाले कक्षा ८ को परीक्षा दिएकोमा सबैको नतिजा ननग्रेड आएको हो ।

धनगढी–६ मटियारीस्थित भैरवबाबा आधारभूत विद्यालयबाट २५ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएकोमा सबै फेल भएका छन् । धनगढी–९ बगंराकटानस्थित सरस्वती आधारभूत विद्यालयबाट परीक्षा दिएका १० जनाकै ननग्रेड आएको छ । यस्तै, धनगढी–७ देवरियास्थित शिव माविबाट ३३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएकोमा सबैको ननग्रेड नतिजा आएको छ ।



धनगढी–१७ स्थित भानु माविमा अध्ययनरत ९३ जना विद्यार्थी पनि फेल भएका छन् । धनगढी–१८ डमौलियास्थित सञ्जन आधारभूत विद्यालयमा अध्ययनरत २९ जना विद्यार्थी सबैको ननग्रेड आएको छ । धनगढी–१६ भादामा रहेको दीपेन्द्र चारपाते माविमा अध्ययनरत १६ विद्यार्थी फेला भएका छन् ।  

धनगढी–१४ फुलबारीस्थित शिवशंकर आधारभूत विद्यालयमा अध्ययनरत २५ जना पनि ननग्रेड नतिजा आएको छ । धनगढी–१४ ‘एच’ गाउँस्थित सिद्धार्थ आधारभूत विद्यालयमा अध्ययनरत १७ विद्यार्थी पनि फेला भएका छन् । धनगढी–१८ ‘एफ’ गाउँको खप्तडी आधारभूत विद्यालयमा ४२ जना विद्यार्थीले परीक्षा दिएकोमा सबैको नतिजा ननग्रेड आएको हो ।



यस्तै, धनगढी–१८ स्थित ‘ई’ गाउँको इन्द्रोदय आधारभूत विद्यालयमा अध्ययनरत सबै (१८) को नतिजा ननग्रेड आएको छ । धनगढी–१९ फूलबारीस्थित फूलबारी आधारभूत विद्यालयका ६२ जनामध्ये सबैको नतिजा ननग्रेड आएको उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

शाखाका अनुसार धनगढी–१२ जनकबस्तीस्थित नवदुर्गा आधारभूत विद्यालयका २७ जना, धनगढी–१२ दुर्गावस्तीस्थित दुर्गा आधारभूत विद्यालयका ३२ जना, धनगढी–१२ कै जनकल्याण माविका ७२ जना र धनगढी–३ बोराडाँडीस्थित मोर्डन स्कुलका १५ जना विद्यार्थीमध्ये सबैको नतिजा ननग्रेड आएको छ । शिक्षा शाखाले प्रकाशित गर्न सम्बन्धित विद्यालयलाई नतिजा पठाइसकेको छ ।

उपमहानगरपालिकाले यसपटक आधारभूत तह अर्थात् कक्षा ८ को परीक्षा सञ्चालनका लागि विगतभन्दा फरक नियम बनाएको थियो । विगतमा विद्यालयले आन्तरिक मूल्यांकंनबाटै विद्यार्थीको नतिजा पठाउने गरेका थिए । तर, यसपटक उपमहानगर आफैंले कक्षा ८ को परीक्षा सञ्चालन गर्‍यो ।

विद्यालयको नतिजा उल्टिएपछि शिक्षक ग्रेडवृद्धिका लागि माग गरिरहेका छन् । सोमबार धनगढीका नगरप्रमुख गोपाल हमाललाई भेटेर शिक्षकले विद्यालयलाई सच्चिने मौका दिन आग्रह गरेका हुन् । शिक्षा सुधारका लागि कक्षा ८ को परीक्षामा कडाइ गरेको उपमहानगरले जनाएको छ । 

विद्यार्थीको जग बलियो बनाउन सके मात्रै माथिल्लो तह बलियो बन्ने बताउँदै उपमहानगरका मेयर हमालले दिन मिल्ने ग्रेड दिइने तर फेल भएकालाई ग्रेड बढाउन नमिल्ने बताए । साथै शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकलाई अवलोकन भ्रमणदेखि क्षमता अभिवृद्धिलगायतका सुविधा प्रदान गर्ने पनि उनले बताए ।

उपमहानगरपालिकाले कक्षा ८ को परीक्षामा ननग्रेड कायम भएका विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने तयारी पनि गरेको छ । वैशाख २९ र ३० गते सैद्धान्तिकतर्फ बढीमा दुई विषयमा ननग्रेड कायम भएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा हुने भएको हो ।

  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार ९:३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया