सडक स्तरोन्नतिपछि मुहार फेर्दै धनगढी

सडक सञ्जालको विकास एवं स्तरोन्नतिसँगै धनगढीको मुहार फेरिन थालेको छ । सडक स्तरोन्नतिले तीव्रता पाएसँगै धनगढीको मुहार फेरिन लागेको हो ।  

उपमहानगरको सहरी वडाका मुख्य र शाखा सडक फराकिलो पारी स्तरोन्नति धमाधम भइरहेको छ । नगरपालिका घोषणा भएको झन्डै ४६ वर्षपछि धनगढीमा छुट्टाछुट्टै योजनामार्फत् पहिलोपटक ठूलो बजेट रकमको लागतसहित सडक स्तरोन्नति भएको हो ।  

यस क्रममा मुख्य बजार क्षेत्रको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको दुई किलोमिटर लम्बाइमा सडकको दायाँबाँयाको क्षेत्र मिचेर बनाइएका झन्डै ४ सय २८ घर संरचना घर संरचना भत्काइएको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारको ६० करोड रुपैयाँ बजेटको सहयोग छ ।

उपमहानगरपालिका इञ्जिनियर दिजराज भट्टले स्तरोन्नति भइरहेको सडकको दुवैतिर पक्की नाली, फुटपाथसहितको सडक बन्न लागेको बताए । ‘सडकका विभिन्न चोकको नामाकरण पनि गरिँदैछ,’ उनले भने, ‘सामाजिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिको शालिक स्थापना गर्ने तयारी पनि छ ।’  

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तह आफैंले निर्माण गर्ने सडकको आफैं मापदण्ड तोक्न पाउने व्यवस्थाबमोजिम सडक फराकिलो गरी स्तरोन्नति गर्न लागिएको हो । यसबाहेक विश्व बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत धनगढीका थप केही मुख्य सडक र शाखा सडकको स्तरोन्नति पनि धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत उपमहानगरपालिकाको विभिन्न वडामा पर्ने झन्डै ११ किलोमिटर लामो सडकको स्तरोन्नति भइरहेको हो । 



स्तरोन्नति भइरहेको ट्राफिक चोकदेखि कैलाली पुलसम्म एक दशमलव  ३८ किलोमिटर, गुल्म–चर्च सडक दुई दशमलव सात किमी, हुलाकी सडक खण्डदेखि जाखोर तालसम्मको सात सय मिटर, क्याम्पस रोड–शहीद गेट सडक तीन दशमलव  ६५ किमी, धनगढी–खुटिया–स्याउले सडक आठ सय ७० मिटर, मालपोत सडक चार सय ३० मिटर र हसनपुर सडक एक दशमलव  १५ किमि लामो छ ।

उपमहानगरपालिकाले सडक मिचेर बनाइएका घर संरचना भत्काएर सडक स्तरोन्नति गर्ने र प्राकृतिक खोला नालामा भएको अतिक्रमण हटाउने पहल विगतमा गरे पनि विभिन्न वाधा व्यवधानका सफल हुनसकेको थिएन । विगतमा सडकको जग्गा मिचेर घर संरचना बनाउने काममा उपमहानगरपालिका आफैंले घर नक्सा पास गरिदिएका कारण सडक घुँगुरिँदै जाने समस्या उत्पन्न भएको नगरवासीको भनाइ छ । 



सडक सञ्जालको विकासकै क्रममा निर्माणाधीन धनगढीको मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको झन्डै १४ किलोमिटर लामो भागको सहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेन सडकको निर्माणकार्य पनि लगभग पूरा हुन लागेको छ  । यो सडकअन्तर्गतको सुनिखोला पुल, मनहरा खोला र मोहनामा पुल निर्माण जारी  छ । 

धनगढी प्रवेश गर्ने एक मात्र मुख्य अत्तरिया–धनगढी सडक खण्डमा दैनिक सानाठूला ५ हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गर्छ । यो सडक निर्माणका लागि निर्माण कम्पनीसँग २०७४ मा ठेक्का सम्झौता गरिएको थियो ।

२०७६ सम्म यो सडक सडक निर्माण पूरा गरिसक्नुपर्ने भए पनि विभिन्न बाधा अवरोधका कारण निर्माण अवधि पटक–पटक थपिँदै गएको छ । ‘छ लेन’ सडक निर्माणसँगै धनगढीदेखि अत्तरिया चोकसम्म पुग्न अब सवारी साधनमार्फत् १०/१५ मिनेट मात्र लाग्न थालेको छ । सडक स्तरोन्नतिपछि आवागमन पनि सहज भएको अनुभव नगरवासीको छ ।

यसअघि साबिक सडक जीर्ण र साँघुरो हुँदा सवारी साधनमार्फत् धनगढीदेखि अत्तरिया पुग्न आधा घण्टाभन्दा बढी समय लाग्ने गरेको थियो । यो सडक, सडक विभागको उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गतको सरकारको प्राथमिकता प्राप्त योजना हो । सडकको लागत करिब २ अर्ब १५ करोड छ । सडकको स्तरोन्नतिसँगै धनगढी, अत्तरियालगायतका साना ठूला बजार क्षेत्रको व्यापारिक क्रियाकलापमा योगदान पुग्ने विश्वास गरिएको छ ।

स्वचालित बत्ती जडान हुँदा झिलिमिली

उज्यालो धनगढी अभियानअन्तर्गत छ लेन सडकको धनगढी सडक खण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिएपछि सडकसहित आसपासको वस्ती झिलिमिली भएको छ । स्मार्ट सडक बत्तीमा रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ बन्द हुने ‘सेन्सर’ जडान गरिएको छ । धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा यो खण्डका दुई सय १६ खम्बामा चार सय ३२ लाइट जडान गरिएको छ । 

यो काममा उपमहानगर र नेपाल विद्युत् प्राधिकरणको गरी २ करोड ६९ लाख ५८ हजार ४ सय १० रुपैयाँ बजेट खर्च भएको छ । उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उज्यालो धनगढी अभियान अन्तर्गत सबै दृष्टिले धनगढीलाई उज्यालो पार्ने योजना अनुरूप यो बत्ती जडान गरिएको बताए ।  
 
‘सुन्दर, सफा, हराभरा र उज्यालो धनगढी बनाउने मिसन छ,’ उनले भने, ‘यसका लागि आगामी दिनमा उपमहानरगरको १९ वटै वडामा बत्ती जडानको योजना छ ।’ धनगढीको मुख्य चोक ट्राफिक चौराहामा केही दिन अघि मात्रै ‘हाइमास्ट लाइट’ जडान कार्य पनि पूरा भएको छ ।  छ लेन सडकलाई हरियाली बनाउन फूललगायतका बोटबिरुवा रोपिएको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी सहर धनगढीको छ लेन सडकमा स्ट्रिट लाइट जडान भएसँगै सुन्दरता अझ थपिएको छ । यसले सडक दुर्घटना न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास गरिएको छ । छ लेन सडकको निर्माण, सडक बत्ती जडान र हरियालीले शहरको सुन्दरता बढेको अनुभव भइरहेको स्थानीयवासी चेतराज भट्टले बताए ।  

उपमहानगरको जनसङ्ख्या २ लाख ४ हजार सात सय ८८ भन्दा बढी पुगेको छ । बसाइँसराइका कारण धनगढीमा बर्सेनि घरसंरचना निर्माण हुने क्रम पनि ह्वात्तै बढ्ने गरेको छ । कूल १९ वटा रहेको धनगढीका अधिकांश ग्रामीण वडामा भने स्तरीय सडकका साथै खानेपानीलगायतका आधारभूत पूर्वाधार भने अझैँ पुग्न सकेको छैन । रासस

  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार १३:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया