प्रहरी-मिटरब्याज पीडित झडपबारे अध्ययन गर्न सहायक प्रजिअको संयोजकत्वमा समिति गठन

सरकारले मिटरब्याज पीडित र प्रहरीबीच सोमबार भएको झडपबारे अध्ययन गर्न काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ ।

पाण्डेको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र मन्त्रालयको एक/एकजना प्रतिनिधि सहभागी छन् । संयोजक पाण्डेले सत्यतथ्य पत्ता लगाई पाँच दिनभित्रमा प्रतिवेदन बुझाउने गरी आज समिति बनेको जानकारी दिइन् । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भएको पत्रकार भेटघाटमा उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार गर्ने जानकारी दिएका थिए । घाइते भएका प्रहरी र पीडितलाई आफूले भेट गरी स्वास्थ्यलाभको समेत कामना गरेको उनले बताए । 

उक्त समितिको प्रतिवेदनका आधारमा मन्त्रालय अघि बढ्ने उनले बताए । पीडितले आजै अन्तिम दिन हो आन्दोलन गर्ने भन्दै लाँठी, ढुंगा थुपारेर बसेको चाल पाएपछि प्रहरीले आवश्यक सावधानी अपनाउँदै गेट लगाउने क्रममा प्रहरीमाथि नै ढुंगा प्रहार भएपछि घटना भएको आफूले जानकारी पाएको गृहमन्त्री श्रेष्ठले बताए । जोसुकैबाट घटना भए पनि आफू दुखित भएको उनले बताए । 

सरकारले यसअघि तराईबाट पैदलै काठमाडौं आएका मिटरब्याजी पीडितसँग एउटा सहमति गरी कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको र आयोग बनाएर आवश्यक अध्ययन अनुसन्धान थालिसकेको अवस्थामा त्यो सम्झौता अपुरो भएको भन्दै पुनः यो समूह आएर आन्दोलन थालेको थियो । 

उनीहरुले सरकारसँग छबुँदे माग राख्दै वार्तासमेत गरे पनि सहमति हुन नसकेपछि शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका थिए । त्यही क्रममा सोमबार घटना भएको थियो । सोमबार भएको झडपमा प्रहरीतर्फ आठजना र पीडिततर्फ २० जना घाइते भएका काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । 





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार १९:५०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया