विद्युत् नहुँदा स्वास्थ्यकर्मीको गुनासो : टर्च बालेरै प्रसूति गराउनुपर्छ
फाइल तस्बिर

हुम्लाको दुर्गम वस्तीमा विद्युत् सेवा सर्वसुलभ नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ । विशेष गरी स्वास्थ्य चौकीमा प्रसूति गराउन समस्या हुने गरेको जनाइएको छ । 

‘टर्च’ बालेर सुत्केरी गराउनुपर्ने वाध्यता रहेको स्वास्थ्यकर्मीको भनाइ छ  । विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको चर्को लोडसेडिङका कारण स्वास्थ्यकर्मीलाई ‘मोबाइल’ र अन्य ‘टर्च’ बालेर सुत्केरी गराउनु परेको हो ।

ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराले भने, ‘मोबाइल र टर्च बालेर  सुत्केरी गराउनुपर्ने वाध्यता रहेको छ  । हिल्दुम विद्युत् वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत नियमित नहुँदा गर्भवतीलाई सुत्केरी गराउन समस्या हुने गरेको छ ।’

यही वैशाख ४ मा प्रसूति गृहमा आएकी ठेहेकी २० वर्षीया नन्द भण्डारीलाई तीन घण्टा लामो समय टर्च बालेर प्रसूति गराउनु परेको बोहराले बताए । विद्युत आपूर्ति नहुनु र स्वास्थ्य चौकीमा रहेको सोलारले काम नगरेपछि स्वास्थ्यकर्मी र बिरामीलाई समस्या खेप्दै आउनुपरेको छ । 
  
नवजात शिशुलाई अन्धकारमा हेरचाह गर्नु अनि आमालाई पनि चिसो पानीले सफा गर्नुपर्ने वाध्यता छ । हिल्दुम विद्युत वितरण केन्द्रले हाल दैनिक १७–१८ घण्टा लोड सेडिङ गर्ने गरेको कारण सुत्केरी तथा बिरामीको उपचार गर्न कठिन हुने गरेको छ । विद्युत लोडसेडिङ बढेका कारण ठेहे स्वास्थ्य चौकी मात्र नभएर बरगाउँ, डाँडाफया र स्याडाँ स्वास्थ्य चौकीको अवस्था पनि उस्तै रहेको जनाइएको छ ।  





  • प्रकाशित मिति : वैशाख ६, २०८० बुधबार १३:१६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया