गगन थापाले कार्यकर्तालाई भने- पुरानो कार्यशैलीले हुँदैन, नयाँ तरिकाले काम गर्नुपर्छ
फाइल फाेटाे

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राप्त अवसरलाई सदुपयोग गर्दै परिणाम दिनेगरी जनताका काम गर्न कांग्रेसका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने बताएका छन् । 

कांग्रेस गण्डकी प्रदेशद्वारा शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री थापाले भने, ‘अब कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो पुरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्नुपर्छ ।’ 
    
‘लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली कांग्रेसका कार्यकर्तामा विसं २०४८ को निर्वाचनमा जसरी उत्साह बढेको थियो पछिल्ला चुनावमा त्यस्तो उत्साह हराउँदै गएकाले आम नेता तथा कार्यकर्तामा पार्टीले जागरण ल्याउन आवश्यक छ’, उनले भने, ‘लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएकाले आमजनताको भरोसा कांग्रेसप्रति नै रहेको छ ।’

‘प्रदेश सरकार बनाउँदै गर्दा आम कांग्रेसका नेता तथा कार्यकर्तामा उत्साह र खुसी देखिएका छन्’, उनले भने, ‘आमकार्यकर्तामाझ पुगेर कांग्रेसले उनीहरूका समस्या बुझ्नुपर्छ ।’ बैंकले ब्याज वृद्धि गर्दा नेपाली पीडित बनेको र ऋण तिर्नसक्ने अवस्थामा नरहेको जस्ता समस्या पनि पछिल्लो समय देखिएको उनको भनाइ छ । 

‘कांग्रेस सरकारमा भएकाबेला पार्टी विस्तार र आफूले गरेको कामको प्रचार गर्ने अवसर पनि यही हो’, महामन्त्री थापाले भने । पार्टीभित्र नयाँपुस्तालाई अवसर दिएर पार्टीलाई अगाडि बढाउन जरुरी भएको थापाले बताए । 

पार्टीका सबै भ्रातृ सङ्गठनको निर्वाचन सम्पन्न गरी सङ्गठनलाई छिट्टै पूर्णता दिँदै कांग्रेस सक्रियरूपमा आफ्नो सङ्गठन विस्तार गर्न नगरदेखि वडासम्म पुग्ने तयारीमा जुटेको भनाइ थापाको छ ।  





  • प्रकाशित मिति : वैशाख ९, २०८० शनिबार ७:१९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया