रोडीकोट स्वास्थ्यचौकी आफैं अस्वस्थ

हुम्लाको मध्य भागमा रहेको सर्केगाड गाउँपालिका–७ स्थित रोडीकोट स्वास्थ्य चौकी आफैं अस्वस्थ देखिएको छ ।  

स्वास्थ्यचौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसँगै पिउने पानी या सार्वजनिक शौचालयको व्यवस्था छ न त बिरामी जाँच गर्ने अत्यावस्यक सामग्री नै छ । बिजुली बत्ती नभएकोले कोठा अँध्यारो हुँदा जाँच गर्न आउने बिरामी भवन बाहिरै पालो पर्खिनुपर्छ ।

विशेषगरी यहाँ सुत्केरी महिलाहरू धेरै आउँछन् । रात्रीकालीन उपचाररर्थ बिरामीलाई मोबाइल टर्चको सहायताले जाँच गर्नुपर्ने वाध्यता भएको सेवाग्राहीको गुनासो छ । सेवाग्राही भन्छन्, ‘यस विषयमा पटक–पटक स्थानीय सरकारलाई जानकारी गराइए पनि सुनुवाइ भएन, अब कहाँ भन्न जाने ? कसलाई भन्ने ?’ 

स्वास्थ्यचौकीमा न्यूनतम आधारभूत सेवासमेत उपलब्ध नहुनुको साथै एउटा सामान्य स्वास्थ्यचौकीमा हुने कर्मचारीसम्म नहुँदा स्वास्थ्यचौकी झन् अस्वस्थ बन्दै गइरहेको रोडीकोट स्वास्थ्यचौकी अनमी अस्थायी इन्चार्ज दुर्गा कुमारी शाहीले बताइन् । ‘स्वास्थ्यचौकीमा ६/७ जना स्थायी कर्मचारी हुनुपर्ने हो, गाउँपालिकाले दुई/चार दिन अस्थायी कर्मचारी नियुक्ति गर्छ, फेरि हटाउँछ यसको अल्पकालीन र दीर्घकालीन समस्याको समाधान खोज्नु जरुरी छ,’ शाहीले भनिन् । 

पर्याप्त औषधि नहुँदा पनि स्वास्थ्यचौकी सञ्चालनका लागि समस्या भइरहेको उनले बताइन् । ‘गाउँपालिकाले औषधि थोरै पठाउँछ जनसङ्ख्या धेरै भएका कारणले स्वास्थ्यचौकीमा बिरामी धेरै आउँछन् । करिब तीन वडाको बिरामीको साथै विद्यालय पनि नजिकै भएकोले विद्यार्थी पनि धेरै आउँछन् । पालिकाले पठाएको औषधि धेरै समय पुग्दैन । बिरामी आउँछन्, विभिन्न औषधि खोज्छन् । औषधि सकिएको छभन्दा उल्टै हामीलाई नै थर्काउँछन्,’ शाहीको गुनासो छ,‘गाउँपालिकाले पनि औषधि कति छिटो सिद्याएको भनेर जवाफ फर्काउँछ । हामीले को–कसलाई कसरी जवाफ दिने ?’,

यहाँ स्वास्थ्यचौकी ठूलो दुई तल्लाको भवनको छ । केही कोठा प्रयोगविहीन अवस्थामा रहेका छन् । कोठा धेरै भएता पनि उपयुक्त कर्मचारी र औषधि नहुँदा प्रयोगविहीन बनेको हो । जिल्ला जनस्वास्थ्य र गाउँपालिकाका कार्यालयले आवश्यक औषधी स्वास्थ्यचौकीमा नपठाउँदा औषधि अभावका कारणले यहाँका स्थानीयवासी बिरामी हुँदा उपचार गर्न सुर्खेत,नेपालगञ्ज जानुपर्ने वाध्यता छ ।



कहिलेकाहीँ सामान्य औषधिसमेत स्वास्थ्य संस्थामा नहुँदा ३/४ घण्टा हिँडेर आएका सेवाग्राहीले स्वास्थ्य संस्था वरिपरि रहेको मेडिकलमा फर्केर औषधी किन्ने गरेको सोही स्वास्थ्यचौकीका स्थायी अहेव कर्मचारी मनिता यादवले जानकारी दिइन् । 



स्वास्थ्यचौकीमा सेवा उपलब्ध नहुँदा तीन घण्टाको दूरीबाट हिँडेर आएर दुःख मात्र पाउने गरेको अझ आफूहरूलाई निजी स्वास्थ्य क्लिनिक नै काम लाग्ने भइरहेको स्थानीयको भनाइ छ ।

सर्केगाड गाउँपालिका–७ का पूर्ववडाध्यक्ष कृष्णप्रसाद जैसीले आफूले रोडीकोट स्वास्थ्यचौकी सुधारमा ल्याउन खोजेको तर सुधारमा ल्याउन नसकेको स्वीकार गर्छन् । वर्तमान वडाध्यक्ष तथा स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर खत्रीले स्वास्थ्यचौकीका लागि  जिल्लाबाट नआउने औषधिको सूची बनाएर किन्नका लागि वडा कार्यालयले पनि पहल गर्ने बताए ।

उनले सरकारले तोकेका स्वास्थ्यचौकीमा निःशुल्क वितरणको औषधि ३८ थरीको सूचीभन्दा बाहेक स्थानीयबासीको माग धेरै भएका औषधि खरिद गरी नि:शुल्क वितरण गर्ने तयारी भएको बताए ।

  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार १३:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया