दार्चुलाका शिक्षक कैलालीमा मृत भेटिए

केही दिनअघि बुवाआमालाई काठमाडौं घुमाएर फर्किएका दार्चुलाका एकजना शिक्षक कैलालीको गोदावरी नगरपालिका अत्तरियाको एक होटलमा मृत फेला परेका छन् । दार्चुलाको ब्याँस गाउँपालिका–३ मा रहेको सिद्ध माध्यमिक विद्यालय सिनामा कार्यरत ४५ वर्षीय मोहनसिंह डडाल मृत अवस्थामा फेला परेका हुन् । 

उनी प्रावि शिक्षक थिए । डडाल गोदावरी नगरपालिका–१ अत्तरियास्थित बसपार्कमा रहेको न्यू सत्कार होटलमा १० वैशाखमा कोठा लिएर बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदीप चन्दले जानकारी दिए । उनका अनुसार होटलको १०३ नम्बर कोठामा बसेका डडाल मंगलबार मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार डडालको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

डडालको स्थायी बसोबास दार्चुलाको वडा नं. ३ कै तुसारपानी हो । उनकी पत्नी पनि त्यहीँ टोलको विद्यालयमा रिक्त दरबन्दीमा अध्यापन गर्छिन् । मृतक डडालका दाजु कुन्दनसिंह कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ झिलमिलामा बस्छन् । केही दिनअघि दुवै दाजुभाइ मिलेर बुवआमालाई काठमाडौं घुमाएर फर्किएका थिए । 

डडालले अत्तरियास्थित गोदावरी नगरपालिका नजिक घरेडी किनेको र घर बनाउने योजनामा रहेको परिवारले जनाएको छ । उनी मृत भेटिएपछि परिवारले घटनाको सत्यतथ्य पत्ता लगाइदिन प्रहरीलाई अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : वैशाख १२, २०८० मंगलबार १८:३२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया