जनकपुर बम काण्डको ११ वर्ष, मिथिला सहिद दिवस मनाइयो

आज वैशाख १८ गते । आजकै दिन मिथिला राज्यको माग गर्दै जनकपुरधामको रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा बसेकामाथि बम प्रहार गरिएको थियो । सो घटनाको आज ११ वर्ष पुगेको छ ।

मिथिला राज्य संघर्ष समितिको अगुवाइमा ०६९ साल वैशाख १८ गते भइरहेको शान्तिपूर्ण धर्नाको क्रममा धर्नास्थलमा बम प्रहार हुँदा मिथिला नाट्यकला परिषद्का कलाकार रञ्जु झा, सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र विमल शरणको ज्यान गएको थियो । बम विष्फोटमा परेर अन्य दुई दर्जन व्यक्ति घाइते भएका थिए ।

बम काण्डमा मारिएका सहिदहरूको सम्झनामा सोमबार स्थानीय रामानन्द चोकमा मिथिला सहिद दिवस मनाइएको छ । मिथिला राज्य संघर्ष समितिले श्रद्धाञ्जली सभाको आयोजना गरी मिथिला सहिद दिवस मनाइएको हो ।
 
श्रद्धाञ्जलीसभामा मिथिला राज्य प्राप्तिका लागि तत्कालीन मिथिला राज्य संघर्ष समितिद्वारा ०६९ सालमा गरिएको शान्तिपूर्ण आन्दोलनमा सहादत प्राप्त गरेका सहिद रञ्जु झा, सुरेश उपाध्याय, विमल शरण, दीपेन्द्र दास र झगरू मण्डलप्रति सहभागीले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
 
बम विष्फोटका बेला धर्नामा सहभागी तत्कालीन मिथिला राज्य संघर्ष समितिका सदस्य जीवनाथ चौधरीले यस्तो विस्फोट हुन्छ भन्ने कुराको आफूहरुले कल्पनासमेत नगरेको बताए ।

बम विष्फोटमा परी ज्यान गुमाउनेलाई सरकारले सहिद घोषणा गरिसक्दा सो विष्फोट गराउने मुख्य योजनाकार पूर्वराज्यमन्त्री सञ्जय साहसहित सातजनाले जन्मकैदको सजाय पाए । जिल्ला अदालत धनुषाले साहसहित सातजनालाई जन्मकैदको फैसला सुनाएको हो । 





  • प्रकाशित मिति : वैशाख १८, २०८० साेमबार १९:१८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया