प्रजनन स्वास्थ्य शिक्षाबारे सचेत हुँदै किशोरी

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ की १८ वर्षीय जुन धामी अचेल प्रजनन स्वास्थ्यका बारेमा कुरा गर्न लजाउँदिनन् । विद्यालयका कक्षामा प्रजनन स्वास्थ्य सम्बन्धी पढाई हुँदा त्यो पाना नै दोब्राएर राख्ने गरेकी उनी आइपास र फाया नेपालका सामुदायिक अगुवाहरूले समुदायमा चलाएका यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धीको छलफलपछि आफूमा उल्लेख्य परिवर्तन आएको बताउँछिन् ।

‘उसै त सरहरूले प्रजनन स्वास्थ्य सम्बन्धीको पाठ राम्रोसँग पढाउँदैनन् त्यसैमा पनि लजाएर बस्नु पर्थ्यो । अहिले सिक्दै जाँदा प्रजनन स्वास्थ्यका सबै विषयको बारेमा खुलेर बहस सुने, तालिमका सहभागीहरूले पनि त्यसै गरी खुलेर बहस गरेको देखे, त्यसपछि त यो विषयमा लजाउने हामी मात्रै रहेछौँ की जस्तो लाग्यो, सुरुको दिन त मलाई तालिममा बस्न पनि अप्ठ्यारो लागेको थियो’ जुनले एकै सासमा भनिन् । 

अर्की किशोरी सविता विष्ट पनि पहिले भन्दा प्रजनन स्वास्थ्यका बारेमा समाजका विभिन्न व्यक्तित्वहरू सचेत हुँदै गएको बताउँछिन् । त्यसकालागि प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतनामूलक र खुलेर बहस गर्नुपर्ने कार्यक्रमू अझै आवश्यक भएको विष्टले बताइन् । गाउँकै विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनले भनिन् । 

उनी भन्छिन्, ‘पहिले पहिले महिनावारी भएका बेला घर नजिकै आउन नदिने, घरभन्दा टाढाको छुट्टै गोठमा बसाउने गरिन्थ्यो तर, अहिले त्यो परिवर्तन हुँदै गएको छ, अहिले महिनावारी भएका बेला हामीहरू घरभित्रकै कोठामा सुत्न सुरु गरेका छौँ ।’

महिनावारी प्राकृतिक कुरा हो, विश्वका सबै मानिसमा हुने कुरा हो र यो महत्त्वपूर्ण पनि छ भनेर बुझेदेखि आफू र आफ्नाहरूको प्रजनन स्वास्थ्यका बारेमा सचेत समेत हुन थालेकी उनको अनुभव छ ।  विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रजनन स्वास्थ्य भन्नाले बिरामी वा रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट पूर्ण रूपमा स्वस्थ रहनु हो साथै प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु हो । 

मानिस प्रजनन रूपमा पूर्ण स्वास्थ हुनका लागि उसमा प्रजनन अङ्गहरू ठीक, सबल हुनु मात्र नभई प्रजनन तथा यौन सम्बन्धित मानसिकता, दृष्टिकोण, अवधारणा, सोच आदि पनि सकारात्मक हुनु जरुरी छ । त्यस्तै मानिस सामाजिक रूपमा पनि स्वस्थ हुनु जरुरी छ । 



प्रजनन स्वास्थ्य भन्नाले मानिसका प्रजनन प्रणाली, प्रजनन अङ्गहरूको स्वास्थ्य, प्रजनन र यौनसम्बन्धी सम्पूर्ण विषयहरू भन्ने बुझाउँदछ । यस अन्तर्गत व्यक्तिहरूले सुरक्षित र आनन्दमय यौन जीवनयापन गर्न सक्षम छन्, सन्तान जन्माउने क्षमता छ, सन्तान जन्माउने नजन्माउने, कहिले जन्माउने, कति समयमा जन्माउने भन्ने निर्णय गर्ने स्वतन्त्रता छ भन्ने कुराहरू पर्दछन् । 

खल्ला टोलकै ३६ वर्षीय रामदुलारी चौधरी पनि १८ वर्षीय छोरीसँग प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा गर्छिन् । प्रजनन स्वास्थ्यका बारेमा परिवारमा खुलेर कुरा गर्नुपर्छ भन्ने बुझेकी उनी छोरासँग भने खुलेर कुरा गर्न सक्दिनन् । ‘म पनि प्रजनन स्वास्थ्यका बारेमा भर्खरै सिक्दै छु’ चौधरीले भनिन्,‘परिवर्तन एकै चोटी हुँदैन, बिस्तारै हुने हो ।’



त्यस्तै १७ वर्षीय माया जोशी भन्छिन्, ‘अहिले त हाम्रो समाज अलिअलि भए पछि खुल्न थालेको छ । पहिले–पहिले केटाकेटी सँगै हिँडे भने कति कुरा काट्थे तर, दिनप्रतिदिन समाजले त्यो कुरा स्वीकार गर्दै गएको छ ।’ केही वर्ष अघिसम्म विद्यालयमा स्वास्थ्य शिक्षाअन्तर्गत प्रजनन स्वास्थ्यको पाठ सुरु हुँदा कक्षामा एक जना छात्रा पनि बस्न लजाउनेहरू गरेको अनुभव उनीसँग छ ।

शिक्षकलेसमेत त्यो पाठ नै पढाउन धक मान्थे । तर, अहिले विद्यार्थीहरू निर्धक्कसँग प्रजनन स्वास्थ्यका बारेमा जानकारी राख्छन् । ६ महिना अघि वडाकी एक १९ वर्षीय किशोरीले पेटमा प्रेमीको गर्भ रहेकै कारण आत्महत्या गरिन् । अहिले गाउँका किशोरीहरू छलफल गर्छन् । 

‘गर्भ रहेकै कारण ज्यानै फाल्नुपर्ने थिएन नि गर्भपतन त गोप्य हुँदो रहेछ, गोप्य रूपमा गर्भपतन गराएको भए हुने वा प्रेमी भनिएको व्यक्तिले गैर जिम्मेवारीपन देखाएकै कारण पनि त्यसलाई कानुनी कठघरामा उभ्याउन जरुरी थियो तर, उसले हामी कसैलाई पनि त्यो कुरा सेयर नै गरिन्’ चौधरीले सुनाइन् । 

  • प्रकाशित मिति : वैशाख २१, २०८० बिहीबार ९:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया