सामुदायिक वनभित्र पार्टी कार्यालय शिलान्यास

कैलाली गोदावरी नगरपालिकामा बाढीपीडित र सुकुम्वासीको नाममा वन क्षेत्रमा बनाइएका घर टहरा भत्काउने अभियान चलिरहेकै बेला सामुदायिक वनभित्र नेपाली कांग्रेसको भवन निर्माणका लागि शिलान्यास गरेको छ । 

गोदावरी नगरपालिका १ स्थित सुरक्षा महिला सामुदायिक वन क्षेत्र भित्रै बिपी स्मृति भवन निर्माणका लागि शिलान्यास गरिएको हो । कांग्रेसका प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले सुरक्षा महिला सामुदायिक वन क्षेत्रभित्रै शिलान्यास गरेका हुन् ।

केन्द्रीय सांसद बलायर मात्र होइन, वनकी अध्यक्ष लक्ष्मी भण्डारी पनि वन क्षेत्र अतिक्रमण गरेर बनाइने भवनको शिलान्यास गर्न पुगेकी थिइन् । उनले आफूहरूलाई सामुदायिक वनको जग्गा दिने अधिकार नभएको, तर भोगाधिकार ल्याउने आश्वासन दिएपछि आफूहरूले सहमति दिएको उनले बताइन् ।

‘हामीलाई त्यो अधिकार छैन । उहाँहरूले भोगाधिकार ल्याउँछौँ भन्नुभयो’ उनले भनिन्, ‘मलाई पनि हिजो बोलाउनुभएको थियो, अनि गएको थिएँ ।’ वन क्षेत्र अतिक्रमण गरेर नेपाली कांग्रेसले बनाउन लागेको बिपी स्मृति भवनको लागि शिलान्यास गरिए पनि बाँकी काम अघि बढ्ने विषयमा भने विवाद सुरु भएको छ । अन्य राजनीतिक दलले सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् ।

एउटै नगरपालिकाभित्र बाढीपीडित र सुकुम्वासीको नाममा वन क्षेत्र कब्जा गर्दा डोजर चलाएको र पार्टीको नाममा भने वन क्षेत्रभित्रै पक्की भवन बनाउन दिएको भन्दै विरोध सुरु भएको हो ।

‘वनका विषयमा सरकारी नीति एउटै हुनुपर्छ । गरिबलाई हटाउने र धनीलाई बस्न दिने कुरा राम्रो होइन,’ नेकपा एमाले गोदावरी अध्यक्ष गोकर्ण भट्टले भने ‘वन क्षेत्र अतिक्रमण गर्न माननीय नै पुगेको कुराले हामीलाई लज्जा बोध भइरहेको छ ।’ उनले त्यो निर्माण कार्य तत्काल बन्द गर्ने गराउने गरे । 



डिभिजन वन कार्यालय धनगढीका निमित्त प्रमुख भीम ढकालले वनमा निर्माण भइरहेको संरचना रोक्नका लागि आफूले निर्देशन दिइसकेको बताए । उनले चौकिडाँडामा एकैपटक सयौंको संख्यामा मानिस आएर अतिक्रमण हुन थालेपछि तत्काल एक्सन लिइएको बताए । 

‘एकैपटक ठूलो संख्यामा मानिस आएर प्लटिङ नै गरेर वन अतिक्रमण गर्न थालेपछि तत्काल एक्सन लिइएको हो । एक्सन नलिइएको भए त्यहाँ अझै धेरै मानिस आउने सम्भावना थियो,’ उनले भने ‘अत्तरियामा अन्य क्षेत्रमा पनि वन अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरिएका भएपनि तिनलाई हटाउन अर्कै किसिमको स्टाटिजी बनाउनुपर्ने हुन्छ । पार्टी कार्यालयको हकमा मैले सब डिभिजनलाई काम रोक्न भनिसकेको छु ।’
 
उनले सामुदायिक वनले निर्णय गरेर जग्गा दिएको भन्दै त्यस्तो अधिकार सामुदायिक वनमा नरहेको बताए । भवन निर्माणाधिनस्थलको चारैचिर सालका रुख रहेका छन् भने भवनको लागि रेखांकन गरेकै क्षेत्रमा पनि सालका बुट्यान रहेका छन् । गोदावरी क्षेत्रको वन अतिक्रमणको चपेटामा परेको छ । 



अत्तरिया बजारसँग जोडिएका वन विभिन्न संघसस्था, पार्टी, व्यक्तिका नाममा अतिक्रमणको चपेटामा परेका हुन् । यस क्षेत्रमा रहेका सुरक्षा सामुदायिक वन, दुर्गालक्ष्मी सामुदायिक वन, चौकीडाँडा सामुदायिक वन विभिन्न बहानामा अतिक्रमण हुने गरेका छन् ।

यस क्षेत्रको वन सबैभन्दा बढी संघ सस्थाको नाममा अतिक्रमण भएको छ । विभिन्न संघसस्थाहरुले वन भित्र खाली ठाउँ रहेको भन्दै आ–आफ्ना कार्यालय भवन निर्माण गरेर वन अतिक्रमण गर्दै आइरहेका छन् । वनको अतिक्रमण बढे पनि सम्बन्धित सामुदायिक वनका पदाधिकारी र वन कार्यालय भने मौन बस्ने गरेका छन् ।

डिभिजन वन कार्यालय धनगढीले केही दिनअघि गोदावरीको चौकिडाँडामा वन अतिक्रमण गरेको भन्दै सुकुम्बासीका सयौं टहरा भत्काएको भए पनि राजमार्ग किनारामै वन अतिक्रमण गरेर बनेका संघसस्थाका ठूला–ठूला पक्की संरचना भत्काउन भने खुट्टा कमाउने गरेको छ ।

  • प्रकाशित मिति : वैशाख २१, २०८० बिहीबार १७:३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया