‘सुकुम्वासीमाथि राजनीति’

कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा सडक छेउको जंगलमा केही महिना यता दर्जनौँ परिवार टहरा निर्माण गरेर बस्दै आउँदा त्यसलाई भत्काउने कार्य भइरहेको छ ।

कुनै पनि व्यक्तिले वन क्षेत्रमा घर, टहरा निर्माण गरेमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र स्थानीय सबै एक भएर अगाडि बढ्नुपर्ने ठाउँमा यहाँ भने एक बचाउने अर्को हटाउने खेलमा लागेका छन् । 

वन क्षेत्र कब्जा गर्ने उद्देश्यका साथ जंगल टहरा निर्माण भएका समाचार विभिन्न सञ्चार माध्यममा आएपछि वन डिभिजन कार्यालय र स्थानीय सरकारको साझेदारीमा वैशाख १८ गते डोजर लगाएर भत्काउन लगायो । त्यसपछि यहाँ विभिन्न व्यक्तिहरूबाट टीकाटिप्पणीहरू भइरहेका छन् । 

जंगल अतिक्रमण गरी बसी रहेका बस्ती हटाएर राजनीतिक जुहारी खेलिरहेका छन् । राष्ट्रिय भूमि आयोगले मापदण्ड अनुसार अव्यवस्थित बोसवासीलाई हाल बसेकै ठाउँमा र भूमिहीन (नेपाल भरी कुनै पनि ठाउँमा जग्गा नभएका) लाई मापदण्ड अनुसार जग्गा उपलब्ध गराउने नीति अनुसार चौकिडाँडामा रहेका भूमिहीनको पनि लगत सङ्कलन गरिसकिएको छ । सो कार्य अगाडि बढिरहेका बेला हाल चौकिडाँडामा सडक किनारामा बसेका वादी समुदायका बस्ती मात्रै भत्काइएका छैनन् त्यसलाई राजनीतिक रंग दिएर नेताहरू दुई खेमामा बाँडिएर जुहारी खेलिरहेका छन् । वन कार्यालयले हाल सो ठाउँमा पहाडी जिल्लाबाट सुकुम्वासी आएर बस्न थालेपछि तत्काल ‘एक्सन’मा उत्रिएको जनाए पनि सो ठाउँमा १ महिना अगाडि आएर बसेकाहरूसँगै वर्षैदेखि बसेकालाई पनिसँगै डोजर लगाएर हटाएको थियो ।

सो क्रममा यसै क्षेत्रमा बसोबास गरेर राष्ट्रिय भूमि आयोगको फारम भरेकाहरूका टहरा भत्काइएपछि नेताहरूबीच विरोध र बचाउको दोहरी चल्न थालेको छ । भूमि आयोगको काम सुस्त हुँदा भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी निराश भइरहँदा नेताहरू भने आयोगको कामलाई तीव्रता दिनुको साटो आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

सुकुम्वासी बस्ती भत्काइएपछि सत्तापक्षको चर्को विरोध भएपछि अत्तरियामा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा सांसद एवम् कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर आक्रोशित मात्रै भएनन् लेखराज भट्टलाई सुकुम्वासीप्रति प्रेम भए उहाँकै जग्गामा सुकुम्वासीलाई राखिदिनेसम्मको चेतावनी दिए । उनले आफूलाई चलाउन नखोज्न चेतावनी दिँदै आफू एक्लो वीरबहादुर नभएर यस क्षेत्रको तागत भएको दाबी गरेका थिए ।



कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘याद गर्नुहोला धेरै जिस्काउनु भयो भने तपाईँले लिएको त्यो जमिन राज्य सँग लड्नु भयो होला, अदालतलाई प्रभावमा पार्नु भयो होला त्यो फेरी पुनर्जीवित गरिने छ । अदालतमा त्यति मात्रै होइन तपाईँलाई सुकुम्वासी माथि त्यति धेरै प्रेम छ दया छ, करुणा छ भने तपाईँको जमिनमा सुकुम्वासी ल्याएर राखिने छ ।’

मंगलबार गोदावरी – १ को एक सामुदायिक वनमा बलायरले बिपी स्मृति भवनको शिलान्यास गरेपछि उक्त विषयलाई चौकिडाँडाका सुकुम्वासी बस्ती भत्काएको घटनासँगै जोड्दै उनको चर्को आलोचना भएको थियो । उनले यहाँबाट पहाडतिर फोन गरेर कुनै पार्टीका दलालहरूले पैसा उठाउँदै सुकुम्वासीलाई निम्तो दिइरहेको बताउँदै वास्तविक सुकुम्वासीलाई मात्रै पहिचान गरेर व्यवस्थापन गरिनुपर्ने बताए । सुकुम्वासी बस्ती भत्काएको र बिपी स्मृति भवन शिलान्यास गरेको विषयमा सामाजिक सञ्जालमा पनि नेताहरूबीच दोहरी चलिरहेको छ ।



विशेष गरेर एमालेका नेताहरूले कांग्रेसले नेतृत्व गरेको गोदावरी नगरपालिका लगायत पार्टीका नेताहरूको चर्को आलोचना गरिरहेका छन् । एमालेका गोदावरी नगर अध्यक्षले नेपाली कांग्रेस पनि के सुकुम्वासी भएकै हो ? भनेर प्रश्न गर्दै गरिबका झोपडीमा डोजर लगाउने, कांग्रेसले महल बनाउन शिलान्यास यो भन्दा घोर अन्याय र अत्याचार अरू के नै हुन सक्छ ? भनेर सामाजिक सञ्चालन मार्फत आक्रोश पोखेका छन्।

उनले बलायरले आक्रोशित हुँदै एमालेका नेतामाथि खनिएपछि प्रतिक्रिया दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘कम्युनिस्ट भनेका स्पातले बनेका मान्छे हुन् भन्ने हेक्का रहोस् प्रतिक्रियावादीका बन्दुकसँग नडराउने तिम्रा धम्कीसँग डराउने प्रश्नै उठ्दैन तिमीलाई खुलेआम चुनौती छ धेरै फुरफुर नगर ।’

भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन राष्ट्रिय भूमि आयोगले काम गरिरहेको छ । तत्कालिन भूमिसम्बन्धी समस्या समाधान आयोगले २०७७ पुस २ गते गोदावरी नगरपालिकासँग सम्झौता गरेर काम अगाडि बढाएको थियो । सोही कामलाई निरन्तरता दिँदै हाल राष्ट्रिय भूमि आयोगले जग्गा नापी र लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाएको हो । 

यो पनि पढ्नुहोस् : सामुदायिक वनभित्र पार्टी कार्यालय शिलान्यास 

                           कांग्रेस नेता बलायर पत्रकारसँग रिसाएपछि...

  • प्रकाशित मिति : वैशाख २३, २०८० शनिबार १७:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया