सुदूरपश्चिममा तीन महिनापछि सरकार विस्तारको चर्चा,  कुन मन्त्रालयमा कसको दाबी ?

सुदूरपश्चिम प्रदेशमा तीन महिनापछि सरकार विस्तारले चर्चा पाएको छ । मुख्यमन्त्री पाएको तीन महिनापछि बल्ल कुन मन्त्रालय कसको दाबी भन्ने कुराले चर्चा पाएको हो । नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले शपथ लिएको तीन पुग्न लाग्दा पनि मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री शाहसँगै कांग्रेसकै तर्फबाट भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा र एकीकृत समाजवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले शपथ लिएका हुन् ।

नयाँ आर्थिक वर्षको बजेट बनाउने समयमा मन्त्रालयहरू खाली रहेका छन् । मुख्यमन्त्री शाहसहितको टिम सहमतिका लागि संघीय राजधानी काठमाडौं पुगेका छन्  । मुख्यमन्त्री साथमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद पनि छन् । मुख्यमन्त्री शाहसँग भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, उपनेता अक्कल रावल र सांसद ओम विक्रम भाट सरल पनि काठमाडौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका हुन् ।

मुख्यमन्त्री शाह नियुक्त भएको यही वैशाख २७ गते तीन महिना पुग्दै छ । तर, तीन सदस्यीय रहेको मन्त्रिपरिषद् हालसम्म विस्तार हुन सकेको छैन । सरकारको नेतृत्वदेखि मन्त्रालय भागबन्डामा सत्तारुढ दलमा सकस देखिएको छ । सुदूरपश्चिममा ७ मन्त्री, ४ राज्यमन्त्रीसहित ११ सदस्य मन्त्रीमण्डल बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ ।

सरकारमा माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २, मन्त्रालयमा दाबी गरेको छ । अहिले सरकारमा रहेको कांग्रेसले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएको छ । थप १ मन्त्रालय पनि पाउनुपर्ने कांग्रेसको दाबी छ । आर्थिक मामिला मन्त्रालय पाएको नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि थप १ मन्त्रालय पाउनुपर्ने अडानमा छ ।

यी दुई मन्त्रालय मध्ये एक मन्त्रालय नपाए माओवादी केन्द्रले तीन मन्त्रालयको दाबी गरेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी सांसदहरूले भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मध्ये एकमा अडान लिन आग्रह गरेका थिए ।

माओवादी मन्त्रालयको लागि आधा दर्जन आकाङ्क्षी छन् । माओवादीबाट संसदीय दलका नेता खगराज भट्ट, ओम विक्रम भाट सरल, झपट साउद, अक्कल रावल, रमेश धामी, शिव ओलीलगायतका मन्त्री बन्ने दौडमा छन् । 



कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवाले सम्हालिरहेका छन् । कांग्रेसले पनि आफूले थप एक मन्त्रालय पाउनुपर्ने अडान लिएको छ । यहाँ आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश शाही छन् । 

दुई मन्त्रालयको दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने सांसदहरूको नाम टुंगो लगाएको छ । पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले आफू र प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीको नाम पार्टीले टुंगो लगाएको जानकारी दिए । आफूहरूले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आफूहरूको दाबी रहेको बताउँदै दुई मन्त्रालय नपाए सरकारमा नजाने उनको दाबी रहेको छ । 



  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार १६:५०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया