सूचना अभावमा असुरक्षित गर्भपतन

कैलालीको धनगढी उपमहानगरपालिकाकी एक महिलाले एक वर्षअघि गर्भपतनको औषधि सेवन गरिन् । सन्तानको रहर पुगिसकेकी २५ वर्षीय उनले गाँउनजिकैको मेडिकलबाट हजार रुपैँयामा गर्भपतनको औषधि किनेर खाइन् । औषधि सेवनपछि अलीअली रगत बगे पनि उनको गर्भ भने खसेन । 

तीन–चार दिनसम्म पातलो रगत मात्रै बगेपछि उनले अस्पताल गएर औजारको माध्यमबाट गर्भपतन गराइन् । १२ हप्ता सम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा सरकारी अस्पतालमा निःशुल्क गर्भपतन गरिन्छ । सरकारी अस्पतालमा निःशुल्क हुन्छ भन्ने थाहा भए पनि मेडिकलबाटै औषधि किनेको उनले बताइन् । सन्तानको रहर पुगिसकेको अवस्थामा स्थायी वा अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ भन्ने जानकरी भए पनि आफ्नै लापरबाहीका कारण दोहोरो दुःख पाएको उनको भनाइ थियो । 

त्यसैगरी, धनगढीकै अर्की एक ३० वर्षीया महिलाले परिवारको दबाबमा तेस्रो सन्तान जन्माइन् । एक छोरा र एक छोरी थिए । श्रीमानले दोस्रो छोरा पनि चाहिन्छ भनेपछि उनी गर्भवती बन्न राजी भइन्  । तर, तेस्रो सन्तानका रुपमा छोरीको नै जन्म भयो । दोस्रो छोराकै आसमा उनी फेरि गर्भवती भइन् । लिंग पहिचान गराउँदा फेरि पनि छोरी नै रहेको थाहा भयो । लिंग पहिचान गरी गर्भपतन गर्नु नेपालमा गैरकानुनी मानिन्छ । गर्भपतनका लागि उनीसँग पैसा भएन । श्रीमानले वास्ता गरेनन् । आफन्तसँगको सहयोगमा उनले मेडिकलबाट गर्भपतनको औषधि किनेर खाइन्, तर काम गरेन् । यो बीचमा वास्ता नगरीकनै उनका श्रीमान कामको सिलसिलामा देशबाहिर गए । उनले आफ्नै बलबुतामा ऋण काढिन् र कतै गएर गर्भपतन गराइन् । 

यी केही प्रतिनिधि घटना मात्रै हुन् । सूचीकृत नभएका स्वास्थ्य संस्था र तालिमप्राप्त स्वास्थ्यकर्मी नभएका क्लिनिकहरुले पनि जथाभावी रूपमा गर्भपतनको औषधि बिक्री गरिरहेका हुन्छन् । जसका कारण महिला तथा किशोरीको ज्यान नै जोखिममा पर्ने गर्दछ । अहिले सुरक्षित गर्भपतनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मी छन् । सबै जिल्लामा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान भइरहेको छ । सन्तानको रहर पुगिसकेका दम्पतीका लागि स्थायी तथा अस्थायी परिवार नियोजनका साधन छन् । तर, अहिले पनि असुरक्षित गर्भपतन गर्ने महिलाको संख्या प्रशस्त छ । अझ कतिपयले त गर्भपतनलाई नै परिवार नियोजनको साधनको रूपमा लिने गरेको समेत स्वास्थ्यकर्मी नै बताँउछन् । 

कतिपयले जानकारीको अभावमा, कतिपयले पारिवारिक दबाबका कारण त कतिपयले आफ्नै लापरबाहीले असुरक्षित गर्भपतनको बाटो रोज्ने गर्दछन् । देशकै सुगम जिल्लाको उपमहानगरपालिकामै बसोबास भए पनि अझै कतिपय महिला असुरक्षित गर्भपतनको बाटो समाउँछन् । अन्तिम अवस्थामा मात्रै सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थामा जाने चलन धनगढी आसपासमा नै अझै पनि छ । सही सूचनाको अभावमा जोखिम मोल्ने महिलाको संख्या उल्लेख्य रहेको छ । 

महिलाले चाहेको अवस्थामा १२ हप्तासम्मको गर्भ पतन गराउन पाउने कानुनी व्यवस्था छ । जबरजस्ती करणी, हाडनाताबाट गर्भ रहेको, वा ज्यान खतरामा पर्ने देखिएमा चिकित्सकको सल्लाहबमोजिम २८ हप्तासम्मको पनि गर्भपतन गर्न सकिने कानुनी व्यवस्था छ । यसबारे पनि अधिकांशलाई जानकारी छैन । जसका कारण मेडिकलबाट जथाभावी रूपमा औषधि सेवन गर्नेको संख्या थुप्रै छ । यसरी जथाभावी औषधि सेवन गरेमा ज्यानै जाने खतरा समेत निम्तिन सक्छ । 





  • प्रकाशित मिति : वैशाख २६, २०८० मंगलबार २२:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया