सुदूरपश्चिम सरकार विस्तारको चर्चाबीच नागरिक उन्मुक्तिमा संसदीय दलको नेता हेरफेर

सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तारको चर्चा चलेका वेला नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा हेरफेर गरिएको छ । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको हो । 

बुधबार आज संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले चौधरीलाई संसदीय दलको नेताबाट हटाउँदै घनश्याम चौधरीलाई जिम्मेवारी दिएको छ । 

सातजना प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्तिमा चारजनाको हस्ताक्षरसहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेशसभा सचिवालयमा दिइएको छ । 

त्यस्तै, प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ । यसअघि लक्ष्मणकिशोर चौधरी प्रमुख समेतक थिए । सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिइएको छ । उक्त बैठकमा रामेश्वर भने उपस्थित थिएनन् ।

सरकार विस्तारको पूर्वसन्ध्यामा संसदीय दलको नेता परिवर्तनले धेरैले नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा आएको टिप्पणी गरिरहेका छन् । संसदीय दलको नेता र प्रमुख समेतक परिवर्तनलाई नागरिक उन्मुक्ति पार्टीका सांसदहरू भने यस अघिको सहमति कार्यान्वयन गरेको दाबी गरेका छन् ।

‘केही दिन पहिले काठमाडौंमा मन्त्री बन्नेहरूले दलको जिम्मेवारी त्याग्नु पर्ने सहमति भएको थियो । सोहीअनुसार संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी हेरफेर भएको हो,’ प्रमुख सचेतकको जिम्मेवारी निभाउँदै आएका लक्ष्मण किशोर चौधरीले भने, ‘हेडक्वार्टरमा भएको सहमतिअनुसार जिम्मेवारी हेरफेर भएको हो ।’



उनले आफू र संसदीय दलको नेता रहेका रामेश्वर चौधरी मन्त्री बन्ने भएपछि पार्टी केन्द्रको सल्लाह र यसअघिको बैठकअनुसार दलको नेता र प्रमुख सचेतक फेरिएको बताए ।

सरकार विस्तार हुँदा नै नागरिक उन्मुक्तिले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमति गरेको भन्दै ती दुई मन्त्रालयमा जिम्मेवारी पाउने नेताहरूको जिम्मेवारी हेरफेर गरिएको आज संसदीय दलको नेतामा नियुक्त भएका घनश्याम चौधरीले बताए ।



संसदीय दलको नेता परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित थिए । इन्दिरा गिरी बैठकमा उपस्थित भए पनि हस्ताक्षर भने गरिनन् । 

त्यस्तै, बैठकमा रामेश्वर चौधरी र टीका थापा भने उपस्थित थिएनन् । आफु उपस्थित नभएको बैठकमा आफ्नो जिम्मेवारी हेरफेर गरेकोप्रति रामेश्वरले असन्तुष्टि व्यक्त गरेको बताइएको छ ।

  • प्रकाशित मिति : वैशाख २७, २०८० बुधबार १९:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया