कालापानीबाट सुरक्षाफौज फिर्ता गर्न भारतलाई वामदेवको आग्रह

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् । 

सांसद गौतमले सो नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनैपर्ने पनि बताए । भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनहरुले पनि सहयोग गर्ने स्पष्ट पारे । 

नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्शामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गर्दै सांसद गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने उनले पटकपटक दोहोर्याए ।

शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक 'नेपाल भारत फर्नलेयर डिप्लाेमेसी इन रिफ्रेन्स टु काली रिभर : पर्सपेक्टिभ अफ इन्टरनेसनल ल'को विमोचन कार्यक्रममा बोल्दै उनले सो भूभाग नेपालको हो भन्ने कुरामा कुनै द्विविधामा पर्न नहुने स्मरण गराए । 

सांसद गौतमले भने, ‘प्रतिनिधिसभाले सर्वसम्मतिले, नेपालका राजनीतिक पार्टीहरुको सर्वसम्मतिले त्यो कालापानीदेखि, लिपुलेकदेखि, लिम्पियाधुरासम्मको भूभाग नेपालको हो ।' 

नेपाल ४ हजार वर्षदेखि स्थापित रहेकाे तर भारत १९४७ बाट बनेको उल्लेख गर्दै उनले भने, त्यो भन्दाअघि किम्वदन्ती र पुराणमा उल्लेख भएको भारत हो । त्यो सत्य होइन । अहिले उसले धेरै ठाउँमा हाम्रो सिमाना मिचेको छ । त्यहाँ हाम्रो भूभाग नै मिचेर लगेको छ । नेपाल सरकारसँग कहिल्यै सम्झौता गरेको छैन । त्यो लिएर गएको छ । त्यो हामीले फर्काउनैपर्छ, फर्किनै पर्छ । किनकि हाम्रा सार्वभौमिकता खण्डित भएको छ ।’



सांसद गौतमले नेपाल कहिल्यै कसैको अधिनमा नरहेको चर्चा गर्दै आफ्ना मिचिएका भूभाग फिर्ता लिएरै छोड्ने समेत बताए । 



  • प्रकाशित मिति : वैशाख ३०, २०८० शनिबार १६:४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया