जंगली हात्ती रोक्न संयुक्त गस्ती
फाइल तस्बिर

भारतबाट दिनहुँ आउने जंगली हात्तीको हुल रोक्न झापामा गस्ती गर्न थालिएको छ । हुलमा आउने जंगली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्ने गरिएको छ । 

डिभिजन वन कार्यालयका कार्मचारी, सशस्त्र प्रहरी र स्थानीयवासीले हात्तीलाई गाउँ पस्न नदिन संयुक्त गस्ती सुरु गरेका वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । उनले दैनिक भारततर्फबाट बाहुनडाँगीको विभिन्न गौँडा प्रयोग गरेर नेपाल प्रवेश गर्ने हात्तीले पाकेको मकै, सुपारी र बाँस क्षति पुर्याउन थालेका छन् । 

बाहुनडाँगीमा विद्युतीय घेरबार समेत तोडेर हात्ती गाउँ पस्ने गरेका छन् । ‘घेरबार मर्मत गरिरहेका छौँ’, उनले भने, ‘तर हात्तीले भत्काएर बस्ती पस्ने गरेका छन् । रोक्नका लागि गस्ती गरिरहेका छौँ ।’

विद्युतीय घेरबार भएको सबै क्षेत्रमा बाटो नहुँदा गस्ती गर्न समस्या भएको कार्कीले बताए । प्रकृति संरक्षण कोषले बाहुनडाँगीमा हात्ती द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले २०७२ सालमा तिरिङदेखि नकलबन्दासम्मको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार निर्माण गरेको छ ।

हाल सोही तारबार मेचीनगर नगरपालिकाको १८ लाख रुपैयाँ र डिभिजन वन कार्यालयको रु पाँच लाखको लागतमा मर्मत भइरहेको छ । डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले दैनिक साँझपरेपछि साइरनसहितको गाडी बाहुनडाँगी क्षेत्रमा हात्ती धपाउन पठाउने गरेको बताए । 

‘जिल्लाका अन्य क्षेत्रमा भन्दा बाहुनडाँगीमा हात्तीले दुःख दिने गरेका छन्’, उनले भने, ‘स्थानीयवासी र प्रहरीसँगको साझेदारीमा गस्ती गरिरहेका छौँ ।’ गस्ती टोलीले भारतबाट आउने हात्तीलाई उतै फर्काउने गरेको राईले बताए ।  





  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार १६:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया