श्रीमानसहित परिवारले आगो लगाए, मिलापत्रका लागि प्रहरी र कानून व्यवसायीकाे दबाब

गत वैशाख १ गते शरीरमा आगो लगाएर हत्या प्रयास गरिएको अग्निपीडित श्वेता झाले आफूमाथि मिलापत्रका लागि चौतर्फी दबाब आइरहेको बताएकी छन् । २८ वर्षीया श्वेतालाई उनका श्रीमान् राजीव झा, देवर कमलेश झा र सासू द्रौपदी झा मिलेर दहेजका लागि शरीरमा आगो लगाएर हत्याको प्रयास गरेका थिए ।

श्वेताको पेटदेखि तल्लो भागसम्म ३५ प्रतिशत जलेको छ । 
आइतबार पत्रकारसँगको कुराकानीमा श्वेताले आफूमाथि घटना मिलापत्रका लागि प्रहरी प्रशासन र कानून व्यवसायीहरुले दबाब दिइरहेको सुनाइन् । उनले भनिन्, ‘इलाका प्रहरी कार्यालय फूलगामाका प्रहरी निरीक्षकलगायत कानून व्यवसायी रेखा झाले पनि मलाई मिलापत्र गर्न भनिरहेका छन् । तर, म अब मिलापत्र चाहँदिनँ ।' 

भोलि फेरि यस्तो घटना नदोहोरिने कुनै ग्यारेन्टी नरहेकाे उल्लेख गर्दै उनले भनिन्र, 'यस्तो अवस्थामा मेरो दुई सन्तानलाई कसले हेर्छन् ? अब श्रीमानसँग छुट्टिएर आफ्नो सन्तानको हक अधिकार मात्रै खोजिरहेकी छु ।’

उनले प्रहरीले श्रीमान राजीव झालाई पक्राउ गरिसके पनि अहिलेसम्म देवर र सासूलाई पक्राउ गर्न नसक्नु दुःखद् रहेको बताइन् । श्वेताले यसअघि पनि पटक–पटक राजिव र उनको परिवारका सदस्यहरुले आफूलाई कुटपिट गर्दै आएको दुःखेसो पोखिन् । उनले आफ्नो सन्तानहरु पनि अहिलेसम्म घरवारविहीन रहेको र आफूहरु अहिले धेरै पीडामा रहेको बताइन् ।
 
श्वेताका पिता जयनारायण झाले बिहे भएको एक वर्षमै छोरीलाई विभिन्न बहानामा उनीहरुले कुटपिट गर्दै आएको बताए । उनले राजिवका परिवारले दहेजको रुपमा ३ तोला सुन दिन आफूलाई विगतदेखि नै पटक–पटक दबाब दिँदै आएको र सो कुरा आफूले स्वीकार नगर्दा श्वेतालाई मानसिक र शारीरीक रुपले कष्ट दिएको बताए । उनले भने, ‘विवाह भएको १० वर्ष वितिसक्दा पनि ३ तोला सुन नदिएको भन्दै उनीहरुले श्वेतालाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए । पछिल्लोपटक आगो लगाएर हत्या गर्ने प्रयास नै गरेका छन् ।’

नेपालकै नातेदारले ‘केटा राम्रो छ’ भनेपछि छोरीको बिहे गर्न तयार भएको र २ लाख ५० हजार भारतीय रुपैयाँ दाइजो दिएकाे उनले बताए । उनले भने, ‘तर, राजीवको परिवारले ३ तोला सुनको माग राख्यो । मैले सुन दिन नसक्ने भन्दै कुरा टार्दै गएँ । त्यसपछि नै श्वेतामाथि घरमा यातना सुरु भएको हो ।’

नयाँ वर्षका दिन आफू बिहानैदेखि घरको काममा व्यस्त रहेका बेला श्रीमान् बाहिरबाट रक्सी खाएर आएकाे र जेठो छोरालाई कुट्न लागेपछि आफूले प्रतिकार गर्दा उल्टै फोहोर गाली गरेकाे श्वेताले बताइन् । 'एकै छिनमा सासू र देवर पनि आएर गाली बेइज्जती गर्न थाले,'घटनाबारे जानकारी गराउँदै श्वेताले भनिन्, 'मैले जवाफ दिँदा मुखमुखै लाग्छेस् भनेर उल्टै कुट्न थाले । पछि सासूले हात समात्नुभो, देवरले टाउको र श्रीमानले मेरो कपडामा सलाई बालिदिनुभो ।’



जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा घर भएकी श्वेताको माइत भारतको कोठिया गाउँमा छ । उनको १८ वर्षकै उमेरमा राजीवसँग २०६९ वैशाख ४ गते विवाह भएको थियो । 

श्वेताले बिहे भएदेखि नै आफूले नारकीय जीवन भोग्दै आएको सुनाइन् । उनले आफूमाथि निरन्तरको कुटपिट, मानसिक यातना र दुःखको कुनै हिसाब नै नरहेको बताइन् । राजीव र श्वेताका ९ वर्षका छोरा र ७ वर्षकी छोरी छन् ।



श्वेतालाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटनामा संलग्न उनका श्रीमान् राजीव झा भने अहिले प्रहरी हिरासतमा छन् । श्वेताले घरेलु हिंसा मुद्दामा जाहेरी दिएपछि प्रहरीले राजिवलाई वैशाख ९ गते पक्राउ गरेको थियो ।

  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार २०:५९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया