कोहलीको शतकमा बैंग्लोर ८ विकेटले विजयी, प्लेअफ सम्भावना जीवितै

रोयल च्यालेन्जर्स बैंग्लोरले भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) प्लेअफ सम्भावना बलियो बनाएको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै बैंग्लोरले प्लेअफ सम्भावना बलियो बनाएको हो । 

आफ्नो १३ औँ खेलमा हैदराबादले दिएको १ सय ८७ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि पूर्वकप्तान विराट कोहलीले शतकीय पारी खेले ।

६३ बलको सामना गरेका उनले १२ चौका र ४ छक्कासहित १ सय रन बनाए । आइपिएलमा कोहलीको यो छैटौँ शतक हो । आइपिएलमा ६ शतक बनाउने उनी एक्लो ब्याटर हुन् । 

यस्तै, कप्तान फाफ डु प्लेसिसले ४७ बलमा ७ चौका र २ छक्काको मद्दतमा ७१ रनको पारी खेले । उनी र कोहलीबीच पहिलो विकेटका लागि १०८ बलमा १७२ रनको साझेदारी बन्यो । यस्तै, ग्लेन म्याक्सवेल ५ र माइकल ब्रेसवेल ४ रनमा अविजित रहे । 

हैदराबादका लागि भुवनेश्वर कुमार र टी नटराजनले १/१ विकेट लिए । त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनायो । 

उसका लागि दक्षिण अफ्रिकन ब्याटर हेनरिक क्लासेनले शतकीय पारी खेले । ५१ बल खेलेका उनले ८ चौका र ६ छक्कासहित १०४ रन बनाए । आइपिएलमा क्लासेनको यो पहिलो शतक हो ।



यस्तै, ह्यारी ब्रुकले अविजित २७, कप्तान एडन मार्कमले १८, राहुल त्रिपाठीले १५ र अभिषेक शर्माले ११ रन जोडे । बैंग्लोरका लागि माइकल ब्रेसवेलले २, हर्षल पटेल र मोहम्मद सिराजले १/१ विकेट लिए । 

यो जितसँगै बैंग्लोर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले १२ खेलबाट १४ अंक जोडेको छ । बैंग्लोरले लिग चरणको अन्तिम खेलमा आइतबार शीर्ष स्थानको गुजरात टाइटन्सको सामना गर्नेछ । 



हैदराबाद भने पुछारमा छ । उसले १३ खेल खेल्दा ९ मा हार तथा ४ खेलमा मात्र जित प्राप्त गरेको छ । उसले अन्तिम खेलमा आइतबार नै मुम्बई इण्डियन्सविरुद्ध खेल्ने तालिका छ । 

  • प्रकाशित मिति : जेठ ५, २०८० शुक्रबार ६:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया