म्याग्दीमा भेटियो तातोपानीको नयाँ मुहान
फाइल तस्बिर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा तातोपानी निस्कने मुहान भेटिएको हो ।   

बेनी–जोमसोम सडकको भिरकाटे पारी कालीगण्डकी र दोवा खोलाको दोभान नजिकै बगरमा बाफ उडेको देखेपछि खन्ने क्रममा तातोपानीको मुहान भेटिएको दोवा बेँसीका गमबहादुर राम्जालीले बताए ।  

‘बगरमा बाफ उडेको र पानी रसाएर चिसो भएको देखेपछि गल र बाउसोले खन्दा तातोपानीको मुहान भेटियो,’ उनले भने, ‘एक पटकमा तीन/चार जनाले शरीर डुबाएर स्नान गर्न मिल्ने पोखरी बनाएका छौँ ।’ जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने पानीको मुहान अन्नपूर्ण गाउँपालिका–१ मा पर्ने दोवा बेँसी र बेनी–जोमसोम सडकको भिरकाटे खण्डको पारिपट्टि रहेको छ । 

दोवाका बासिन्दा सोही तातोपानीमा स्नान गर्न जान थालेका छन् । तातोपानी स्नान गर्न आएकी दोवाकी ६७ वर्षीया लालमाया पुर्जाले पानीमा वीरेनुन र अण्डा उमालेको जस्तो गन्ध आउने बताइन् । ‘सानो हुँदा यहाँको तातोपानीको पोखरीमा डुबेको याद छ । पछि मुहान पुरिएको थियो,’ उनले भनिन्, ‘५५/६० वर्षपछि फेरि मुहान भेटिएकाले नुहाउन आएको हो ।’   

दोवा, सुनारी, कटुञ्जेका बासिन्दा त्यसबेला यहाँको तातोपानीमा स्नान गरेर स्वास्थ्य लाभ गर्दथे । तातोपानीको पोखरीमा स्नान गरेमा चोटपटक लागेको, सुन्निएको, बज्रिएको, ग्यास्ट्रिकलगायत स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।  

अहिले भेटिएको तातोपानी जमिनबाट माथि भुलभुल निक्लन्छ । तातोपानीको स्रोत मध्यम किसिमको छ । व्यवस्थित पोखरी बनाउन सकेमा २० देखि २५ जनासम्मले स्नान गर्न सक्छन् । 



अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश फगामीले नयाँ भेटिएको तातोपानीको मुहान संरक्षण र व्यवस्थापनको तयारी गरिएको बताए । ‘तातोपानीको संरक्षण र व्यवस्थापनका लागि स्थानीयवासीले माग गरेका छन्,’ उनले भने, ‘अहिले भेटिएको भन्दा केही माथि पनि अर्को मुहान भएको सूचना आएकाले सबैको एकै पटक अध्ययन र व्यवस्थित बनाउने तयारी गरेका छौँ ।’ 

अन्नपूर्ण गाउँपालिकाको दोवा सेकार्कु, भुरुङ, पाउद्वार, रातोपानीमा यसअघि पहिचान भएका तातोपानीका मुहानको संरक्षण र व्यवस्थापन हुँदै आएको छ । यसैगरी बेनी नगरपालिका–४ को सिङ्गा, रघुगङ्गा गाउँपालिका–४ को दर्मीजा, धौलागिरि गाउँपालिका–१ गुर्जा र वडा नम्बर ४ बगरमा रहेका तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलको रूपमा प्रयोग भएका छन् । रासस   



  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार ९:३५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया