सुडानी शरणार्थीलाई सुरक्षा र खाद्यान्नको चुनौती

युद्धमा आफ्नो लाभ देख्ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाईका कारण  इजिप्टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना गर्नुपरेको छ ।

सीमामा पर्खिरहेका सयौं शरणार्थी परिवारमध्ये केहीसँग राहदानी छैन । महिला र बच्चाहरूलाई छुट दिइए पनि आफ्नो पति, भाइ वा छोरालाई भिसा नदिएसम्म आफुहरू कतै जान नसकेको बताउने एक महिलाले आफूहरूले इजिप्टको वाणिज्य दूतावासको कृपा पर्खेर दिन बिताइरहेको बताइन् । 

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार गत अप्रिल १५ मा दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच युद्ध सुरु भएयता एक लाख ३२ हजारभन्दा बढी शरणार्थी इजिप्ट आइपुगेका छन् ।

सीमावर्ती शहर वादी हल्फास्थित इजिप्टको वाणिज्य दूतावासले आफन्तलाई भिसा दिने पर्खाइमा रहेकी एक महिलाले केही दिनदेखि ‘कहिले भुइँमा त कहिले बसमा सुतिरहेको’ बताइन् ।  

नाम नबताउने शर्तमा ती महिलाले भनिन्, ‘हामी खार्तूममा आफ्नो घरबाट भागेको एक महिना पछि आफ्ना केही काकीहरूसँग सीमा पार गर्यौँ, तर मेरो काकालाई भने प्रवेशाज्ञा मिलेको छैन । हामी उहाँहरूको पर्खाइमा इजिप्टको सीमानामा खुला आकाशमा दिन रात बिताइरहेका छौँ । हामी विदेशमा केही गर्न जान्दैनौ ।’  तर इजिप्टको वाणिज्य दूतावासले उहाँहरूलाई प्रवेश आज्ञा दिएको छैन । 

दुई हप्ताको प्रतिक्षापछि अन्ततः कायरो पुगेका अरू केही सुडानी नागरिकहरूले वादी हल्फामा फसेका कारण युद्धका समय फाइदा लुट्ने मुनाफाखोरहरूको व्यवहारको शिकार बनेको बताएका छन् । उनीहरूले सबै कुराको अत्यधिक मूल्य निर्धारण गरिएको बताएका छन् । 



आफ्ना अरू साथी वादी हल्फाबाट ६५० किलोमिटर (४०० माइल) टाढा रेड सीको सुडानी बन्दरगाह सहरमा रहेको उनीहरू बताउँछन् । त्यहाँ पनि उनीहरूलाई राहतको प्रत्याभूति छैन । तर पर्खिनुको विकल्प छैन । युसुफ अल–बशीरले आफू र अन्य सयौं व्यक्तिहरूले आफ्नो आवेदन पेस गर्न ‘पाँच दिनदेखि’ पर्खिरहेको बताए । 

सुडानबाट अन्य देशको सीमा क्षेत्रमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । भाग्न नसकेकाहरूमध्ये धेरैजना आधारभूत सामग्रीबिना नै आफ्नो घरमा बसिरहेका छन् ।



इजिप्टको सीमा पार गरेर आउनेहरूका लागि इजिप्टियाली रेड क्रिसेन्टले बिरामीहरूको हेरचाह गर्नुका साथै पानी र बिस्कुटहरू वितरण गर्छ । सुडानी शरणार्थीलाई शरण दिइरहेका अन्य छिमेकी मुलुकहरूको तुलनामा इजिप्टमा मानवीय कार्यहरू सीमित छन् ।

कायरोले शरणार्थी शिविर स्थापना गर्न अस्वीकार गरेको छ र यसको सट्टा नयाँ आउनेहरूलाई काम गर्ने र स्वतन्त्र रूपमा हिँडडुल गर्ने अधिकार दिइएको बताएको छ । राष्ट्रपति अब्देल फतह अल–सिसीले आफ्नो देशले ’युद्ध शरणार्थीलाई होइन’ तर ‘पाहुना’लाई स्वागत गरिरहेको बताउँदै आएको छ ।

इजिप्टको दक्षिणमा प्रवेश गर्ने सुडानीहरूले सीमाबाट करिब २०० किलोमिटर उत्तरमा रहेको सबैभन्दा नजिकको प्रमुख सहर असवानमा लैजान बसको टिकट किन्नुपर्छ । तिनीहरूलाई त्यहाँ स्वयंसेवकहरूले स्वागत गर्छन् जसले तातो खाना खुवाउँछन् । खतरनाक मरुभूमियात्रामा निस्केपछि सुडानी शरणार्थीहरूका लागि तातो खाना पहिलो पटक मिल्ने गरेको उनीहरू बताउँछन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धअघि ४० लाखभन्दा बढी सुडानी इजिप्टमा बसोबास गर्दै आएका थिए ।  

  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार १४:२८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया