जनमोर्चाले भन्यो- रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्नुपर्छ

राष्ट्रिय जनमोर्चा पार्टीले टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रिया रोक्न माग गरेको छ ।  

शुक्रबार विज्ञप्ति जारी गर्दै जनमोर्चाले चौधरीलाई आममाफी दिन सरकारले चालेको प्रक्रियाको विरोध गर्दै प्रक्रिया रोक्न माग गरेको हो ।   

‘टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आमाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो,’ अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।   

सामूहिक हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरण बढ्ने अध्यक्ष केसीको भनाइ छ । उनले विगतमा सरकारले रवि लामिछानेको राहदानी प्रकरणमा राजनीतिक सौदावाजी गरेर मुद्दा नचल्ने निर्णय गर्दा सरकारलाई महँगो परेको पनि स्मरण गराएका छन् ।  

२०७२ भदौमा थरूहट थारूवानले कैलालीको टीकापुरमा गरेको आन्दोलनले  हिंसात्मक रूप लिँदा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । त्यही हत्याकाण्डमा दोषी ठहर गर्दै जिल्ला, उच्च र सर्वोच्च अदालतले चौधरीलाई जन्मकैदको फैसला गरेको छ ।  

फैसलाअनुसार चौधरी १३ फागुन २०९४ सम्म थुनामा बस्नुपर्नेछ । तर, सरकारले संविधानको धारा २७६ मा माफी दिनसक्ने व्यवस्थाअनुसार आममाफी दिने प्रक्रिया अगाडि बढाएको हो । 





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार ११:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया