काठमाडौं– यो साताको मध्यसम्म बढेको सुनचाँदीको भाउ साताको अन्त्यतिर भने ओरालो लाग्यो । गत साता सुनचाँदीको भाउ ५ वर्षयताकै उच्च कायम भएको थितयो । यो साताको अन्त्यतिर भने सुनचाँदीको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पहिलो दिन आइतबार बजार खुल्दा प्रतितोला ६२ हजार ६ सयमा कारोबार भएको सुन मंगलबारसम्म प्रतितोला २ सयले बढेर ६२ हजार ८ सयमा कारोबार भयो । तर, बुधबारदेखि भने सुनको भाउ ओरालो लाग्दै शुक्रबारसम्म प्रतितोला ८ सयले घटेर ६२ हजार रुपैयाँमा कारोबार भयो ।
यस्तै, चाँदी आइतबार बजार खुल्दा प्रतितोला ७ सय ७५ मा कारोबार भएको थियो । सोमबार थप ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ८० मा कारोबार भएको चाँदी मंगलबारसम्म सोही मूल्यमा स्थिर रह्यो ।
बुधबार ५ रुपैयाँले कमी आई प्रतितोला ७ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि स्थिर रह्यो । शुक्रबार थप ५ रुपैयाँले कमी आई चाँदी प्रतितोला ७ सय ७० मा कारोबार भएको छ ।
यो साता अमेरिका र उत्तर कोरियाबीचको वार्तामा सबै कुरामा सहमति नभए पनि वार्ता सौहार्दपूर्ण रह्यो । त्यसैगरी, चीन र अमेरिकाबीच मार्च १ गते शुक्रबारदेखि नयाँ भन्सार दर कायम गर्ने भनिएता पनि त्यसमा ढिलाइ भएकाले लगानीकर्ताको सुनमा आकर्षण देखिएन ।
भारत र पाकिस्तानबीच युद्ध संकेत देखिएता पनि पछि तनाव कम भएको र अर्कोतर्फ भारतीय मुद्रा अलि मजुबत भएका कारण सुनको भाउमा कमी आएको विश्लेषकहरूले अनुमान गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।