महिला आयोग अध्यक्ष पराजुलीको स्पष्टोक्ति- ज्येष्ठ नागरिक ग्राम निर्माणमा अनियमितता गरेको छैन
‘दोषी प्रमाणित भएमा सजाय भोग्न तयार छु’

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संखरापुरमा ज्येष्ठ नागरिक ग्राम बनाउने क्रममा आफूले आर्थिक अनियमितता नगरेको स्पष्टीकरण दिएकी छन् । 

शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै अध्यक्ष पराजुलीले संखरापुरमा ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’ निर्माण गर्दा कुनै प्रकारको आर्थिक अनियमितता नगरेको स्पष्ट पारेकी हुन् ।

बैठकमा सांसदले अध्यक्ष पराजुलीको नेतृत्व रहेको संस्थाले जेष्ठ नागरिक ग्राम बनाउन सरकारबाट पैसा लिएर पनि भवन बन्न नसकेको कुरा उठाएसँगै उहाँले सो कुराको स्पष्टोक्ति दिएकी हुन् ।  

उनले ज्येष्ठ नागरिक ग्राम बनाउन नेपाल सरकारबाट ६ करोड १ लाख रुपैयाँ लिएर काम गरेको भए पनि २०७२ सालको भूकम्पले भवनमा क्षति पुगेका कारण भवन सम्पन्न गर्न नसकेको बताइन् । 

‘त्यो कुनै पनि पैसा मैले खाएको होइन । मैले चलाएको होइन । मेरो अकाउन्टमा लगेर राखेको होइन । मैले घरजग्गा जोडेको होइन । मैले केही पनि गरेको होइन । कुन–कुन कामका लागि त्यति पैसा खर्च भयो भनेर सम्पूर्ण खर्च विवरण, अडिट रिपोर्ट सबै कुराहरू मन्त्रालयमा पेस भएको छ । कर कार्यालयमा पनि पेस भएको छ,’ पराजुलीले भनिन्, ‘जिल्ला समन्वयमा पनि पेस भएको छ । त्यसपछि शंखरापुर नगरपालिकाले हामी यसलाई टेकओभर गर्छौँ । र, आफ्नो तरिकाले अगाडि बढाउँछौ भनेर आफ्नो नगर समितिमा निर्णय भयो । त्यो निर्णय भएपछि संस्थाबाट सम्पूर्ण प्रक्रिया पूरा गरियो । मैले त्यो संस्था छोडे पनि ।’



 उनले क्षतिग्रस्त भवनको भवन विभागबाट गएको इन्जिनियर टोलीले अनुगमन गरेको र भवन निर्माण कार्यलाई निरन्तरता दिन नमिल्ने प्रतिवेदन दिएका कारण भवन बनाउन नसकेको बताइन् । भत्काउनका लागि पनि १ करोड रुपैयाँभन्दा बढी पैसा लाग्ने भएपछि त्यत्तिकै बसिराखेको सो भवन संखरापुर नगरपालिकाले आफ्नो स्वामित्वमा लिएको पनि पराजुलीले जानकारी दिइन् ।

‘करिब १३/१४ महिना अगाडिबाट ती सबै कुराहरू संखरापुर नगरपालिका मातहत पुर्जा लगि, पास गरी सबै कुरा भए पनि सकेको छ । मुद्दा फैसला पनि भएको हो । पूर्णपाठ पनि आइसकेको हो । कसैले पुनरावेदनमा जान्छ भने सर्वोच्चमा जान्छ भने, आफू दोषी भए, गलत अभीष्टले काम गरेको छु भन्ने दोषी प्रमाणित भएमा म सजायको भागी हुन तयार छु,’ अध्यक्ष पराजुलीले भनिन् । 



उनले अदालतबाट समेत सो विषयको मुद्दामा फैसला भइसकेको भन्दै कसैलाई चित्त नबुझे पुनरावेदन वा सर्वोच्च अदालत जान पनि चेतावनी दिइन् । रकम हिनामिनामा आफ्नो संलग्नता देखिएमा सजायको भागिदार हुन तयार रहेको पराजुलीको भनाइ छ ।

  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार १८:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया