झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनका योजना निर्माण

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट २ सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दावी गरिएको छ । 

पृथ्वी राजमार्गअन्तर्गत बरादीदेखि साढे दुई किलोमिटर दूरीमा अवस्थित उक्त पुलले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेको छ । सामाजिक सञ्जालदेखि टिकटकबाट उक्त पुलको प्रचार भएपछि यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दो छ । गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत वि.सं २०७७ मा उक्त पुल निर्माण गरिएको हो । 

‘डि’ टाइपको उक्त पुलको लम्बाइ २ सय २० मिटर रहेको छ । उक्त पुलमा एकैपटक ४ सय ७५ पदयात्री आवतजावत गर्न मिल्छ । बाबिरो/प्रमिला जेभीले उक्त पुलको निर्माण गरेको हो । 

पुल पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेपछि गाउँपालिका यसको प्रवर्द्धनमा जुटेको छ । झोलुङ्गे पुललाई केन्द्रित गरेर गाउँपालिकाले पर्यटन विकासका योजना अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

‘हामीलाई जानकारी भएसम्म नेपालको सबैभन्दा अग्लोमध्येको झोलुङ्गे पुल हो भन्ने छ, यो पुललाई केन्द्रित गरेर पर्यटनका योजना बनाउँदैछौँ,’ उनले भने । पर्यटन प्रवद्र्धनका निम्ति झोलुङ्गे पुलसम्म आउने बाटो स्तरोन्नति गर्न लागिएको अध्यक्ष चुमानले बताए । साथै झोलुङ्गे पुलमा आधारित रहेर साहसिक खेल सञ्चालन गर्ने योजना बनाइएको चुमानले बताए । 

‘यहाँ बन्जी जम्प, जीप लाइन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर डीपीआर बनाउँदैछौँ, यो एउटा नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुने निश्चित छ,’ उनले भने । 



अध्यक्ष चुमानका अनुसार झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई लक्षित गरी नजिकै रहेको गुरुङ बस्ती गिरानचौरलाई पर्यटकीय गाउँ बनाउने काम भइरहेको छ । त्यसका लागि चालू आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । ‘राजमार्गबाट नजिकै रहेको झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई गुरुङबस्तीसम्म लैजान सकिए त्यहाँका स्थानीयवासीको जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ,’ उनले भने, ‘बिदा र शनिबारका दिन अन्य दिनभन्दा बढी पर्यटकको चहलपहल हुन्छ ।’ 

गाउँपालिकाले झोलुङ्गे पुल नजिकै रहेको आँधीमूलको पर्यटन प्रवर्द्धन गर्ने काम गरिरहेको छ । त्यसका लागि यहाँ कृत्रिम ताल निर्माण गर्ने योजना अगाडि सारिएको छ । अध्यक्ष चुमानले भने, ‘आँधीमूल पर्यटकीय धार्मिकस्थल हो, २० मिनेटको दूरीमा रहेको आँधीमूलमा कृत्रिम ताल बनाउँदैछौँ । झोलुङ्गे पुल र आँधीमूलको सही व्यवस्थापन गर्न सकिए यहाँका स्थानीयवासीको आर्थिक विकासका निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ ।’ रासस



  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार ८:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया