संसदमा रास्वपाको माग : सरकारले नागरिकता विधेयकलाई संशोधन गरोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले नागरिकताविहीनलाई नागरिकता दिन नभइ अन्य कुनै स्वार्थले नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए । उनले रास्वपा नागरिकता विधेयक प्रमाणीकरणको पक्षमा नरहेको स्पष्ट पार्दै यसको घोर विरोधमा रहेको उल्लेख गरे ।

‘आज जुन विधिबाट, जुन तरिकाबाट सरकारले जुन रवैयाले यो प्रस्तुत गरेको छ, यसले मधेसका ती तमाम नागरिकताविहीन जनतालाई नागरिकता दिन होइन, अन्य कुनै स्वार्थले ल्याएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ छ,’ परियारले भने, ‘हामी यसको घोर विरोध गर्दछौँ । मधेसका मुसहर समुदायका धेरै विद्यार्थी स्कुल जान पाउँदैनन् राज्यले नागरिकता नदिएर । उनीहरूले पोषणभत्ता समेत पाएका छैनन् । बैंकमा खाता खोल्न सकेको छैन । राज्यले आफ्नो दायित्वबाट विमुख हुने ।’ 

उनले नागरिकताको विषय देशको सुरक्षा, मानव अधिकार र भूराजनीतिसँग जोडिएको विषय भएको भन्दै यसलाई संसदमा छलफल नगरी प्रमाणीकरणमा जानु नहुने बताए ।   

‘हिजो लामो समयसम्म राजनीति गरिरहेका राजनीतिक पार्टीहरू आफ्नो दायित्वबाट पर जाने अनि यो सार्वभौम संसदमा आएको यो बेथितिविरुद्ध आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यो कर्मको हामी भारी बोक्ने छैनौँ । हाम्रो यसमा समर्थन छैन,’ प्रमुख सचेतक परियारले भने, ‘यो राजनीतिक विषय हो । नेपालको सुरक्षासँग जोडिएको विषय हो । यो मानव अधिकारसँग जोडिएको विषय हो । सँगसँगै भूराजनीतिसँग जोडिएको विषय पनि हो । यसर्थः यो गम्भीर विषयमा संसदमा विशेष काम छ भनेर हामीलाई संसदमा बोल्न दिइरहने अनि सरकार लुसुलुसु आफ्नो काम गरिरहने यो रवैयालाई अब राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन । यसर्थः सरकारले रोकोस् । सरकारले यसलाई संशोधन गरोस् ।’ 

उनले नेपाली नागरिकलाई नागरिकता दिलाउन रास्वपा संसद र सडकमा संघर्ष गर्न तयार रहेको भन्दै वर्तमान सरकारले यस प्रकारको विधि भने सुधार्नुपर्ने बताए । 



प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका कारण प्रतिनिधि सभा बैठक एक घण्टापछि बस्नेगरी स्थगित गरिएको छ ।  



  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार १४:१३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया