\
राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा (एमाले)मा प्रवेश गर्न तयार भएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक जवाफ फर्काएका छन् ।
बुधबार एमालेका युवा नेताहरुले ७० वर्षे उमेरहद हटेकाले एमालेमै फर्कन गौतमलाई अनुरोध गरेका थिए । जवाफमा गौतमले आफ्नो सदस्यता एमालेमै रहेको र ओलीले बोलाएमा फर्कने बताएका थिए ।
गौतमको सो भनाइमा एमाले अध्यक्ष ओलीले सकारात्मक जवाफ दिएका हुन् । बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उमेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नु भयो नि ? भनी प्रश्न गरेका थिए । सञ्चारकर्मीको जिज्ञासामा ओलीले ‘अब थप केही कुरा छ र ?’ भन्ने प्रतिक्रिया दिए । गौतमले यसबीचमा पार्टी एकता अभियान चलाएको, तर नयाँ पार्टी नबनाएको ओलीको भनाइ थियो ।
ओलीले भने, ‘उहाँले सदस्यता त्यहीँ छ भन्नुभयो होइन ? अनि, कुरा बाँकी छ, केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन ।’
गौतमले एमालेमा जान्छु भन्नु ठीक भएको भन्दै ओलीले भने, ‘ठीक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’
एमालेले मंगलबार मात्रै पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने निर्णय गरेको थियो ।
सो विषयमा एमालेका युवा नेताहरुसँग गौतमले अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गरेमा आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन तयार रहेको प्रतिक्रिया दिएका थिए ।
विगतमा आफूलाई रोक्नकै लागि सो प्रस्ताव ल्याइएको गौतमको बुझाइ छ । एमाले आफूले निर्माण गरेको पार्टी भएकाले त्यसको माया लाग्ने गौतमको भनाइ थियो ।
आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको र केही दिनभित्रै पार्टी सदस्यता नवीकरण गर्नेसमेत उनले बताएका थिए ।
अध्यक्ष वा महासचिव बन्नका लागि आफू एमालेमा जान नलागेको गौतमको भनाइ छ । आफू पार्टीमा योगदान दिनका लागि मात्रै जाने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।