अपमान सहेर पनि धन्न पढाउँदैछन् शिक्षक
शिक्षामा भित्रिएको राजनीति र गुण्डागर्दीको सिकारमा शिक्षक

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको बाल विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार वाइबा गत २५ जेठमा  आफ्नै कार्यकक्षमा कुटिए । उनी सोही विद्यालयका पूर्वविद्यार्थी सुमन फुँयालबाट कुटिएका हुन् ।

फुँयालकी आमा (पार्वती फुँयाल) ले केही समययतादेखि विद्यालय गेटबाहिर पानीपुरी, चटपटेलगायत जङ्कफुट बेच्ने गरेकी थिइन् । उनले बेचेका खानेकुरा खाएर विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय प्रशासनले पार्वतीलाई अनौपचारिकरूपमा त्यहाँ नबेच्न बारम्बार आग्रह गर्दै आएको थियो । तर उनले विद्यालय प्रशासनको उक्त आग्रहलाई बेवास्ता गरेपछि गत १२ जेठमा प्रधानाध्यापक वाइबाले विद्यालयमै बोलाएर पार्वतीलाई विद्यालयको गेटमा जङ्कफुडको व्यापार नगर्न आग्रह गरे । 

प्रधानाध्यापक वाइबाको आग्रहमा विद्यालयका अन्य शिक्षक कर्मचारीले पनि सहमति जनाएपछि पार्वतीले शिक्षकहरूलाई अश्लील शब्द प्रयोग गरेर गालीगलौच गर्न थालिन् । त्यसपछि उनलाई विद्यालयले बाहिर पठायो । विद्यालयका प्रधानाध्यापक वाइबाले भने, ‘पहिला पनि बारम्बार भनेको नमानेपछि जेठ १२ गते विद्यालयमा बोलाएर विद्यालयको गेटमा जङ्कफुड नबेच्नु, कलर हालेका खानेकुरा खाएर विद्यार्थीहरू बिरामी हुन थाले, कि विद्यालयभन्दा अलि पर गएर बेच्नु, बेच्ने नै हो भने स्वस्थ्यवर्द्धक खाजा बेच्नु भनेका थियौँ । हाम्रो कुरा सुनेपछि एक्कासि रिसाएर अश्लील शब्द प्रयोग गरेर गाली गर्न थाल्नुभयो । उक्त दिन सबै मिलेर उहाँलाई विद्यालयबाट पठायौँ ।’

विद्यालयको गेटबाहिर जङ्कफुड नबेच्नु भनेको १३ दिनपछि (२५ जेठमा) छोरासहित विद्यालय परिसरमा प्रवेश गरेकी पार्वतीका छोराले प्रधानाध्यापक वाइबाको कार्यकक्षमै गएर एक्कासि उनीमाथि हातपात गरे । प्रधानाध्यापक वाइबाको नाक र मुखबाट रगत आउने गरी कुटपिट गरेका सुमन अहिले प्रहरी हिरासतमा छन् ।

प्रधानाध्यापक वाइबाले भने, ‘सधैं विद्यालयको गेट खुल्ला हुँदा विद्यार्थीहरूबीचमै कक्षा छोडेर भाग्नेक्रमम बढेपछि चालू शैक्षिक सत्रबाट बिहान १० बजे लगाएको विद्यालयको गेट विद्यालय छुट्टी भएपछि मात्र खोल्ने व्यवस्था गरेका थियौँ । गेट वरपर तारजाली लगाइएको छ । त्यही जालीको प्वालबाट उहाँले विद्यार्थीहरूलाई सामान बेच्ने गर्नुहुन्थ्यो । उहाँले सधैँ गेटमा बसेर व्यापार गर्ने भएकाले विद्यालयको गेट कतिबेला खुल्छ/बन्द हुन्छ, सबै उहाँलाई थाहा थियो । हामीले त्यसरी विद्यालयको गेटबाहिर जंङ्कफुड नबेच्नु भनेको केही दिनपछि उनको छोरा आएर ममाथि कुटपिट गरे ।’

यो घटनापछि विद्यालयका सबै शिक्षक त्रसित बनेको प्रधानाध्यापक वाइबाले फरकधारलाई जानकारी दिए । उनका अनुसार आगामी दिनमा यस्ता घटना हुननदिन नगरपालिकाले प्रतिबद्धता जनाए पनि शिक्षक त्रसित बनेका छन् ।



त्यस्तै, भक्तपुर बहुमुखी क्याम्पस प्रमुखको कुर्सी र नेमप्लेट रूखमा झुन्डिएको करिब २ साता पुग्न लाग्यो । नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध विद्यार्थीहरूले झुन्ड्याएको त्यो कुर्सी अझै रुखबाट निकालिएको छैन ।

विद्यार्थीहरूले क्याम्पस प्रमुखको कार्यकक्ष र लेखा शाखामा पनि तालाबन्दी गरेपछि अहिले क्याम्पस प्रमुख कविता लुइँटेल भट्टराईले जता खाली छ त्यहीँबाट क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छिन् । उनले भनिन्, ‘क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेको भोलिपल्ट दिउँसो  २ बजे आएर नेविसंघका विद्यार्थीहरूले उक्त हर्कत देखाए । प्रमुखको कार्यकक्ष र लेखा प्रशासनमा तालाबन्दी गरिएको छ । कहिले सहायक क्याम्पस प्रमुख त कहिले अन्य कुनै शाखाबाट काम गरिरहेकी छु ।’



यहाँको विवादको मुख्य जरो क्याम्पस प्रमुख लुइँटेल निमित्त क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई जानकारी नदिएर आउनु नै हो । 

क्याम्पस प्रमुखको जिम्मेवारी कसले पायो भन्नेसम्म सुइँको समेत नपाएकी शाक्यले काम गरिरहेकै समयमा एक्कासि क्पाम्पस प्रमुखको नियुक्ति पत्र लिएर लुइँटेल आएपछि अपमान भएको महसुस गरिन् । जुन यो विवादको मुख्य कारण हो । शाक्यले अपमान महसुस गरेपछि त्यसको सुइँको नेविसंघले नपाउने कुरै भएन । 

लुइँटेलले क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेको भोलिपल्टै नेविसंघले निमित्त क्याम्पस प्रमुख शाक्यलाई अभद्र व्यववहार भएको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुन्ड्याएर कार्यकक्षमा तालाबन्दी गर्‍यो । स्रोतका अनुसार शाक्य कांग्रेस र लुइँटेल एमालेनिकट मानिन्छन् ।

हामीले यो सबै बेलिबिस्तार लगाउनुको अर्थ के हो भने जानकारी नै नदिई आउने लुइँटेलको उक्त व्यवहारले अपमान महसुस गरेका नेविसंघमा आबद्ध विद्यार्थीहरूले आफ्नो व्यवहारले क्याम्पस प्रमुख लुइँटेलले पनि त्यही महसुस गर्न सक्छिन् भन्ने किन बुझेनन् ?

यस्तै, पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहालमाथि नेविसंघमा आबद्ध विद्यार्थीले गरेको दुर्व्यवहार ताजै छ । नेविसंघ मोरङ जिल्ला सभापति सरोज पोखरेललगायतको समूहले अध्यक्ष दाहालको निवासमै पुगेर दुर्व्यवहार गरेको थियो । 

विश्वविद्यालयभित्र देखिएको समस्या समाधान गर्न चासो नदेखाएको, सेवा आयोगबाट कर्मचारी नियुक्ति गर्न मनोमानी गरेको, पटकपटक औपचारिकरूपमा उठाएको माग सम्बोधन नगरेकाले मोसो दलिएको विद्यार्थीको भनाइ छ । आयोगका अध्यक्ष दाहालले भने २२ वर्षपछि खुला प्रतिस्पर्धाबाट शिक्षक कर्मचारी नियुक्तिको बाटो खोलेका कारण आफूमाथि उक्त घटना घटेको दाबी गर्छन् ।

यसरी विद्यार्थीबाट शिक्षक अपमानित भएको, कुटिएको र मोसो लगाइएको घटना पहिलो होइन । राजनीतिक दलको छत्रछायामा रहेका विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरूका यस्ता रबैयाले शैक्षिक क्षेत्रप्रति नै वितृष्णा जगाइरहेको छ ।

  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार २१:३०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया